एकै ठाउँमा दुई परिवारका ११ वटा लाश फेला

१७ असार २०७५, आईतवार ०६:२३

असार १७, काठमाडौं । एजेन्सी

भारतको राजधानी नयाँ दिल्लीको उत्तरी भागमा रहेको सन्तनगर इलाकामा एकै ठाउँमा ११ वटा लाश फेला परेको छ । सन्तनगरस्थित गुरुगोविन्द सिंह अस्पतालनजिकको गल्ली नम्बर २ मा यो घटना भएको हो ।

मर्ने व्यक्तिमा कसैको हात बाँधिएको, कसैको गोडा बाँधिएको अनि कसैको मुखमा पट्टी बाँधिएको देखियो । दिल्ली प्रहरीका जोइन्ट कमिस्नर अफ पुलिसले मृतकमा तीन नाबालक पनि रहेको बताएका छन् । प्रहरीले हरेक कोणबाट घटनाको अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

यो सामूहिक आत्महत्या वा सामूहिक हत्या के हो भन्ने विषयमा अनुसन्धान चलिरहेको छ । यो आत्महत्या हो भने यति धेरै मानिसले एकैचोटि आत्महत्या किन गरे भन्ने खुल्नुपर्छ । आपसी शत्रुताका कारण सामूहिक हत्या भएको पनि हुनसक्ने प्रहरीको आशंका छ ।

यो घटना भएको घरमा मानिसको भीड छ । इलाकामा सनसनी मच्चिएको छ ।

मर्ने व्यक्तिहरू दुई दाजुभाइका परिवार भएको बताइएको छ । मर्नेमा सात पुरुष र चार महिला छन् । दाजुभाइमध्ये एकजना प्लाईवूडको व्यापार गर्थे भने अर्काले चुनको व्यापार गर्थे ।