अर्जेन्टिनाको विजयी गोलमा म्याराडोना बढी उत्साहित हुँदा भए बिरामी

१३ असार २०७५, बुधबार ०५:३४

असार १३, काठमाडौं ।

विश्वकपअन्तर्गत अर्जेन्टिना र नाइजेरियाबीचको खेलका दौरान सेलिब्रेसन गर्दा अर्जेन्टिनाका महान फूटबलर डिएगो म्याराडोना अस्वस्थ भएका छन् ।

खेलमा मेस्सीको गोलबाट अग्रता लिँदा खुशी मनाएका म्याराडोना नाइजेरियाले पेनाल्टीमा गोल गर्दा निराश बनेका थिए ।

खेल बराबरीतर्फ अग्रसर हुँदै थियो । यदि त्यस्तो भएको भए अर्जेन्टिना समूह चरणबाटै घर फर्किने थियो ।

खेल सकिन अन्तिम केही मिनेट बाँकी छँदा मार्कोस रोहोले विजयी गोल गरे । सो गोलमा निकै उत्साहित भएर सेलिब्रेसन गरेका म्याराडोना त्यसपछि अस्वस्थ भएको बताइएको छ ।

सन् १९८६ को विश्वविजेता खेलाडी म्याराडोनालाई प्रेसरको समस्या छ । अति नै धेरै उत्साहित हुँदा उनको स्वास्थ्यमा समस्या देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

खेलअवधिभर क्यामेराले पटक-पटक म्याराडोनाको रियाक्सन देखाएको थियो ।

अर्जेन्टिनाका म्याराडोना र ब्राजिलका पेलेलाई फूटबलका बादशाह मानिन्छ ।