असार १०, काठमाडौं । बीबीसी
फिफा विश्वकपमा अर्जेन्टिनाको खराब प्रदर्शनपछि घरबाट बेपत्ता भएका एक भारतीय युवक मृत भेटिएका छन् ।
केरलाका ३० वर्षीय डिनू एलेक्स अर्जेन्टिनाले क्रोएसियासँग हारेपछि घरबाट बेपत्ता भएका थिए । उनको शव कोट्टयमस्थित एक पुलनजिकै भेटिएको नवभारत टाइम्समा खबर छ ।
प्राइभेट कम्पनीमा एकाउन्टेन्टको काम गर्ने डिनू अर्जेन्टिना विशेषगरी लियोनेल मेस्सीका ठूलो फ्यान थिए । प्रहरीले डिनूको कोठाबाट सुसाइड नोटसमेत बरामद गरेको जनाइएको छ ।
उनले लेखेका छन्- ‘मेस्सी मेरो जिन्दगी मात्र तिम्रा लागि । म तिमीले विश्वकपको ट्रफी उठाएको देख्न चाहन्छु ।’
एक आफन्तका अनुसार उनी निकै शान्त स्वभावका व्यक्ति थिए । उनका साथी पनि सीमित रहेको र मेस्सीप्रति निकै नतमस्तक रहेको समाचारमा जनाइएको छ ।
बिहीवार अर्जेन्टिना र क्रोएसियाबीचको खेलअघि उनले अर्जेन्टिनाले मेस्सीकै गोलको मद्दतमा खेल जित्ने दाबी गरेका थिए । साथै सोही दिन उनी अर्जेन्टिनाको जर्सीसमेत किनेर घर फर्किएका थिए ।
खेल सकिएपछि केही साथीहरूले उनलाई सम्पर्क गर्ने प्रयास गरेका थिए, उनको मोबाइल अफ थियो ।
