असार ८, काठमाडौंं । एजेन्सी
राष्ट्रिय अनुसन्धान विभागका निरीक्षक (इन्सिपेक्टर)को शैक्षिक प्रमाण पत्र नक्कली भेटिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि भएको छानबिनका क्रममा अनुसन्धान विभागका इन्सपेक्टर दोलखबहादुर कार्कीको शैक्षिक प्रमाण पत्र नक्कली भएको पत्ता लागेको हो ।
आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनले भारत उत्तर प्रदेशको माध्यमिक शिक्षा परिषदअन्तर्गतको श्रीमती पिपिडी ईन्टरमिडियट कलेज, गोरखपुरबाट प्रविणता प्रमाणपत्र तह (आईए) पास गरेको नक्कली प्रमाण पत्र पेश गरी अनुसन्धान विभागको नायव निरीक्षक (सई)मा जागिर खाएको अख्तियारले जनाएको छ ।
पछिल्लो समय बढुवा भएर उनी इन्सपेक्टर (अनुसन्धान अधिकृत)को रुपमा कार्यरत थिए ।
उनीविरुद्ध २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम जरिवाना र कैद सजाय मागदावी गर्दै अख्तियारले शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
