असार ६, काठमाडौं । बीबीसीबाट
अमेरिका र मेक्सिकोको सिमानामा आप्रवासी परिवारलाई छुट्ट्याउने ट्रम्प प्रशासनको नीतिका कारण उत्पन्न विवादले रिपब्लिकनहरूलाई विधेयक मस्यौदा गर्न अप्ठ्यारो परेको छ ।
अमेरिकी संसद्को तल्लो सदनमा रिपब्लिकन सांसदहरूले पारित गर्ने जुनसुकै किसिमको आप्रवासन विधेयकलाई आफूले समर्थन गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् ।
चौतर्फी निन्दा भएपछि रिपब्लिकनको नियन्त्रणमा रहेको कंग्रेस यो नीतिलाई कम कठोर बनाउनका लागि दबाब छ ।
अवैध तरिकाले सीमा पार गर्ने कामलाई नियन्त्रण गर्न परिवार छुट्ट्याउने नीति आवश्यक रहेको ट्रम्प बताउँछन् ।
रिपब्लिकन सांसदहरूसँगको बैठकपछि यस विषयमा कुनै प्रगति भए नभएको प्रस्ट हुन सकेको छैन तर ह्वाइट हाउसका प्रवक्ता राज शाहले एक वक्तव्य जारी गरेर ट्रम्प रिपब्लिकनहरूको आप्रवासन विधेयकलाई स्वीकृत गर्न तयार रहेको बताए ।
राष्ट्रपतिले मातापिता र बालबालिकालाई छुट्ट्याउनु ‘आकर्षक कुरा नभएको र हेर्दा पनि नराम्रो देखिने’ बताएको सांसद टम कोल बताउँछन् ।
मंगलवार ट्रम्पले अमेरिकी सीमा अवैध तरिकाले पार गर्न खोज्ने मातापितालाई हिरासतमा लिइएमा उनीहरूका बालबालिकालाई अन्तै लगिनुपर्ने बताएका थिए ।
‘गैरकानूनी रूपमा अमेरिका भित्रिन खोज्ने मातापितालाई कारवाही गर्नैपर्छ र त्यसक्रममा बालबच्चालाई छुट्ट्याउनुपर्ने हुन्छ,’ उनले भने ।
अमेरिकी आप्रवासन अधिकारीहरूले ५ मेदेखि ९ जुनसम्म २३ सय ४२ बालबच्चालाई २२ सय ६ मातापिताबाट छुट्ट्याइएको बताए । अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले अवैध आप्रवासनमाथि शून्य सहनशीलताको नीति अपनाइने बताए ।
