स्वीडिस फ्यानमाथि एक बन्दुकधारीले गोली चलाए

५ असार २०७५, मंगलवार ०९:२०

असार ५, काठमाडौं ।

विश्वकप फुटबल हेरिरहेका स्वीडिस फ्यानमाथि एक बन्दुकधारीले गोली चलाउँदा एक किशोरको मृत्यु भएको छ । स्वीडेनका माल्मोस्थित एक क्याफेमा यो घटना भएको हो ।

स्वीडेनले अघिल्लो दिन दक्षिण कोरियामाथि विजय हासिल गरेको खेल देखाइरहेको उक्त क्याफेमा पसेर बन्दुकधारीले कम्तिमा २० गोली चलाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी प्रवक्ता स्टेफन सोडेरहोल्मले १८ वषिर्य किशोर घटनास्थलमै मारिएको पुष्टि गरे ।

यसरी बन्दुक चलाउनुको उद्देश्य अहिलेसम्म पत्ता नलागेको अधिकारीहरुले बताएका छन् । घाइते भएकाहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ । प्रहरीले अहिले त्यहाँ कुनै थप खतरा नरहेको जनाएको छ । घटनास्थलमा अहिले थुप्रै आपत्कालिन सवारी साधन र प्रहरीहरुको घुईंचो छ ।

एक प्रत्यक्षदर्शीले स्थानीय समयअनुसार बेलुकी ६ः१५ मा गोली चलेको बताए । घटनास्थल प्रहरी चौकी नजिकै भएकाले प्रहरीहरु तत्काल त्यहाँ पुगेका थिए ।

स्वीडिस अधिकारीहरुले यो आतंकवादसँग सम्वन्धित घटना नभएको बताएका छन् ।