विश्वकपपछि रोनाल्डोले रियल मड्रिड छोड्ने सम्भावना

५ असार २०७५, मंगलवार ०७:१८

असार ५, काठमाडौं । एजेन्सी

इटालीको पत्रिका लिबेरोले सोमवार छापेको खबरअनुसार, रियल मड्रिड क्लबका सुपरस्टार रोनाल्डोले क्लब छोडेर म्यानचेस्टर युनाइटेड आउने सम्भावना छ । तर फ्रान्सको पेरिस सेन्ट–जर्मेनले पनि रोनाल्डोलाई भित्र्याउन खोजिरहेको छ ।

रियल मड्रिड क्लब र पोर्चुगलका सुपरस्टार फर्वार्डले क्लब छोडेर युनाइटेड जाने कुरा छाप्ने लिबेरो पत्रिका प्रायः फूटबलको गसिपहरू प्रकाशन गर्दैन । त्यसैले उसको खबर विश्वसनीय रहेको १०१ ग्रेटगोल्स डट्कम अन्लाइन पोर्टलले लेख्यो ।

समाचारअनुसार, विश्वकप सकिएलगत्तै रोनाल्डो म्यानचेस्टर युनाइटेड जानेछन् ।

च्याम्पियन्स लीगको समापनकै बेलामा रोनाल्डोले मड्रिड छाड्ने हल्ला चलेको थियो । जुन ६ तारिखमा स्पेनी पत्रिका एल कन्फिडेन्यिालले मड्रिड छाड्ने रोनाल्डोको योजना सार्वजनिक गरेको थियो । उक्त पत्रिकाको पहिलो पृष्ठमै ‘रोनाल्डो रियल छाड्दैछन्’ भनी छापिएको थियो ।

रोनाल्डोले लियोनेल मेस्सीले जति नै पैसा पाउनुपर्ने माग राखेपछि मड्रिड चिढिएको बताइएको छ । मेस्सीले प्रत्येक सीजनमा पाँच करोड पचास लाख युरो पाउने गरेका छन् अनि रोनाल्डो पनि आफूलाई रियलले त्यो जति नै वा
त्यसभन्दा बढी रकम दिनुपर्ने माग राख्छन् ।

रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले रोनाल्डो र उनका एजेन्ट जोर्गे मेन्डेसलाई पैसा बढाउने भने पनि अहिलेसम्म बढाएको छैन । अहिले रोनाल्डौ प्रतिसीजन दुई करोड १० लाख युरो कमाउँछन् ।

रोनाल्डो त रियलले आफूलाई टन्न पैसा तिरेर बरू चारजना खेलाडीलाई बेचे हुन्छ भनिरहेका छन्, स्पेनी खेलकुद वेबसाइट डियारियो गोलले सोमवार लेख्यो । उक्त वेबसाइटका अनुसार, ग्यारेथ बेल, थियो हर्नान्डेज, म्याटियो कोभासिच
र फ्रान्सिस्को सुआरेज अर्थात् इस्कोलाई रियलले निकाल्नुपर्ने रोनाल्डोको अडान छ । क्लबका नयाँ कोच जुलेन लोपेतेगुईको पनि यही धारणा छ ।

तर जुन महिनाको शुरूतिर रियलका पुराना प्रशिक्षक फाबियो कपेलोले रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्किन मरिहत्ते गरिरहेको बताएका थिए ।

‘क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर फर्किन चाहन्छन्,’ बेलायतको एक्सप्रेस पत्रिकासँग कुरा गर्दै उनले भने, ‘मलाई लाग्छ, उनी युनाइटेडका लागि खेल्न चाहन्छन् र आफ्नै देशका मउरिन्होबाट प्रशिक्षण चाहन्छन् ।’