सडक भाँसिएपछि ‘बेलिब्रिज’ जोखिममा

४ असार २०७५, सोमबार ०८:०९

असार ४, काठमाडौं ।

बेनी–जोमसोम सडकअन्तर्गत बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सिमाना गलेश्वरस्थित बेलिब्रिज नजिकै सडक भाँसिएको छ ।

रघुगंगा नदीको कटानका कारण पुलको संरक्षणका लागि लगाइएको ग्याबियन पर्खाल र रिटेनिङ वाल भत्किएर सडक भाँसिएपछि बेलिब्रिज जोखिममा परेको छ । आईतबार दिउँसो पुलको गलेश्वर तर्फको बिम देखि करिब पाँच मिटर नजिकको सडक भाँसिएको हो ।

खोलाले धार थप कटान गर्दै जाँदा पुल र नजिकैको बस्ती जोखिममा परेको स्थानीयवासी दीपक कार्कीले बताए । बेनी–जोमसोम कोरला सडक आयोजनाले ठेक्कामार्फत गलेश्वरस्थित रघुगंगा नदीमा पक्की मोटरेबल पुल निर्माण शुरु गरेको छ ।

पुलको पिप्लेतर्फको पिल्लर ठडाउने खाडल खन्न खोलाको धार गलेश्वरतर्फ डाईभर्सन गराइएकाले कटान गरेर सडक भाँसिएको हो । सडक भाँसिएर कटानको जोखिम बढेपछि ठेकेदार कम्पनीले पिल्लरको जग खन्ने काम रोकेर संरक्षणको काम शुरु गरेको छ ।