आफैंले पालेको साँढेले हानेर १ को मृत्यु, १ जना घाइते

३१ जेष्ठ २०७५, बिहीबार ०८:४२

जेठ ३१, काठमाडौं ।

साँढेले हानेर नवलपुरको गैंडाकोटमा १ व्यक्तिको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् ।

 

 

गैंडाकोट नगरपालिका–८ का दिवाकर पौडेलको आफैंले पालेको साँढेले हानेर मृत्यु भएको हो ।

आफ्नो सम्राट गाई फर्ममा काम गर्ने दिनेश पाण्डेलाई साँढेले हानेपछि पौडेल बचाउन गएका थिए । तर साँढे उल्टै उनीमाथि जाइलाग्यो र उनी गम्भीर घाइते भए ।

साँढेको आक्रमणबाट गम्भीर घाइते पौडेललाई चितवन मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

०३३ सालमा बागलुङबाट गैंडाकोट आएका पौडेलले उतिबेलै देखि कृषि कर्म शुरु गरेका थिए । नेपाल अबुर्द रोग निवारण संस्था चितवन जिल्ला शाखाका सह–सचिब समेत रहेका पौडेल विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध थिए । उनी स्थानीय राजनीतिक नेताका रुपमा समेत परिचित थिए ।

घाइते पाण्डेको भने उपचार भइरहेको छ ।