जेठ २९, काठमाडौं ।
फिफा विश्वकप फूटबल प्रतियोगिता आगामी बिहीवारबाट रुसमा शुरु हुँदैछ । यो २१औं विश्वकप हो ।
यसपछि २२औं विश्वकप सन् २०२२ मा एसियन मुलुक कतारले आयोजना गर्ने तय भइसकेको छ । यद्यपि २३औं विश्वकपको आयोजना कसले गर्ने भन्ने टुंगो लाग्न बाँकी छ ।
अबको ८ वर्षपछि हुने विश्वकप आयोजनाका लागि उत्तर अमेरिका र अफ्रिकाका गरी ४ देश दाबेदार छन् ।
उक्त विश्वकप कसले आयोजना गर्ने भन्ने टुंगो रुस विश्वकपको पूर्वसन्ध्यामा लाग्ने छ ।
विश्वकप अमेरिका, मेक्सिको र क्यानडाको सुविधा सम्पन्न संरचनामा हुने कि अफ्रिकी मुलुक मोरक्कोको महत्त्वाकांक्षी प्रयास सफल हुने भन्ने टुंगो फिफाको विशेष सभाले भोटिङबाट लगाउने छ ।
मोरक्कोले भोटिङमा जान पाउने टुंगो यस महिनाको शुरुवातमा मात्र लागेको हो ।
यद्यपि फिफाको मूल्याङ्कन रिपोर्टमा मोरक्कोमा स्टेडियम, बसोवास र यातायात सुविधालाई जोखिमयुक्त सूचीमा राखिएको छ । मोरक्कोले ५ मा २.७ रेटिङ अंक पाएको छ ।
यसै कारण पनि अमेरिका-मेक्सिको र क्यानडाको संयुक्त दाबेदारी बलियो देखिएको छ । उक्त रिपोर्टमा यी उत्तर अमेरिकी मुलुकले ५ मा ४ रेटिङ अंक पाएका छन् ।
