उत्तर कोरियाले कसरी विश्व राजनीति आफ्नो पक्षमा पार्न सक्यो ?

२५ जेष्ठ २०७५, शुक्रबार ०९:४८

जेठ २५, काठमाडौं । बीबीसी

उत्तर कोरियाका नेता किम जोङ–उन सन् २०१८ मा अन्तर्राष्ट्रिय राजनीतिक चर्चाको केन्द्रमा आएका छन् । राजनीतिक वर्गमा किमले एउटा हैसियत बनाइसकेको मानिन थालेको छ ।

वर्षौंसम्म बाहिरी संसारबाट अलगथलग रहेका किम एक शक्तिशाली खेलाडीका रूपमा अघि आएका छन् ।

चीन, रुस, सिरिया, दक्षिण कोरिया र अमेरिकाका नेताहरूसँग किमको वार्ता निश्चित गरिसकिएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले किमलाई सेप्टेम्बरमा भ्लादिभोस्तोक शहरमा भेटघाट गर्ने निम्ता दिएका छन् ।

सिरियाका राष्ट्रपति बशर अल–असदले उत्तरको राजधानी प्योङयाङको भ्रमण गर्न चाहेको बताए ।

प्योङयाङमा समाचार संस्था एपीका पूर्व ब्युरो प्रमुख जीन लीले अहिले संसार किमलाई अन्तर्राष्ट्रिय राजनेता बनिरहेको हेरिरहेको बताइन् ।

उनले भनिन्, ‘किमको आत्मविश्वास उच्च स्तरमा छ । उनीसँग ब्यालिस्टिक क्षेप्यास्त्र छ र उनी आफूलाई अमेरिका जस्तो संसारको अन्य आणविक शक्तिसम्पन्न देशभन्दा कम ठान्दैनन् ।’

नर्थ कोरियन हाउस अफ कार्ड्स नामक पुस्तकका लेखक केन गौजले ताजा लेखमा लेखे, ‘सन् २०१७ मा आफ्नो क्षेप्यास्त्र परीक्षण कार्यक्रममा तीव्रता ल्याउँदा किमले यस्तो परिणाम आउला भन्ने शायदै अपेक्षा गरेका थिए ।’

तर के राय पनि छ भने किमलाई क्षेप्यास्त्र परीक्षण कार्यक्रमपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग शिखर सम्मेलनको अवसर पाइने खासै आशा थिएन ।

जीन ली भन्छन्, ‘किमले आफूलाई लामो समयसम्म बाहिरी संसारबाट टाढा राखे । यसैले गर्दा संसारभरिका विदेशी अधिकारी उनलाई भेट्ने मौका छुटाउन चाहँदैनन् किनकि उनीहरू किमलाई बुझ्न चाहन्छन् । किम आफ्नो देशका लागि के गर्न चाहन्छन् भनी उनीहरू बुझ्न चाहन्छन् ।

दुई अन्य कुरा पनि छन् जसले किमलाई आफ्नो राजनीतिक यात्रा अघि बढाउन सहायता गर्छ ।

दक्षिण कोरियाले एक उदार राष्ट्रपति छानेको छ जसले चुनाव प्रचारकै बेलामा उत्तर कोरियासँग राम्रो सम्बन्ध बनाउने प्रयास गर्ने बताएका थिए ।

यसले गर्दा दुवै देशलाई संवाद गर्न र सम्बन्ध स्थापित गर्न सहायता पुग्यो ।

त्यसपछि आयो अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निमन्त्रण । तर ट्रम्पले केही शर्त पूरा भएमा मात्र शिखर सम्मेलनलाई अघि बढाउन सकिने बताए ।

तर एक वर्षदेखि उत्तर कोरियालाई धम्की दिइरहेका ट्रम्पले कुनै शतए नराखी भेटवार्ता गर्न तयार भए ।

सिंगापुरमा किम र ट्रम्पबीचको शिखर सम्मेलनले किमलाई राजनीतिक लाभ दिएको छ ।

किमले आणविक कार्यक्रम पूरा भइसकेको र अब देशको पूरा ध्यान देशको अर्थव्यवस्थामा लगाउने बताए । यसका लागि गठबन्धन बनाउन र पुराना साथीको साथ लिन आवश्यक छ ।

चीन किमका लागि महत्त्वपूर्ण देश हो । ऊ नै उत्तर कोरियाको प्रमुख व्यापारिक साझेदार हो ।

किमले केही समयको अन्तरमा चिनियाँ राष्ट्रपतिसँग दुईचोटि भेटघाट गरिसकेका छन् । दुवैपटक व्यापार नै प्रमुख एजेन्डा रह्यो ।

उत्तरले आणविक कार्यक्रम रद्द गर्दा उसमाथिको प्रतिबन्ध पनि हटाइनुपर्ने चीनको चाहना छ । त्यसो गर्दा उत्तरको अर्थव्यवस्था स्थिर बनाउन सकिने उसको धारणा छ ।

यसका साथै अमेरिकासामु पूर्ण आत्मविश्वासका साथ सामना गर्न किमलाई चीनको साथ आवश्यक छ ।

यावत कुरा हुँदा किमले आफ्नो आणविक हतियारलाई राजनीतिक अस्त्र बनाएको छ ।

तर उत्तर कोरियाको अन्तिम खेल कस्तो हुनेछ ? उत्तर र अमेरिकाबीचको शिखर सम्मेलनपछि के हुन्छ ? यी दुई ठूला र महत्त्वपूर्ण प्रश्न हुन् ।