जनकपुर—नेपालगञ्ज बस दुर्घटनामा १ को मृत्यु, ११ जना गम्भीर घाइते

२५ जेष्ठ २०७५, शुक्रबार ०५:०४

जेठ २५, काठमाडौं ।

जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङको भालुबाङ-लमही सडकखण्डमा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना गम्भीर घाइते छन् ।

ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा शुक्रबार बिहान ६ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा भारत लखिनपुर निवासी ५ वर्षीय निरुबी मोहम्मदको मृत्यु भएको हो ।

चालक निदाउँदा बस दुर्घटना भएको प्रहरीको अनुमान छ । बस सडकबाट तल खोलामा खसेको छ ।

बसमा ३३ जना सवार थिए । घाइतेमध्ये एक नाबालकसहित २७ जनालाई बाँकेको कोहलपुर पठाइएको छ । अन्य घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको छ ।

पाँच महिला, तीन पुरुष, दुई बालिका र एक बालक गरी जम्मा ११ जनाको अवस्था गम्भीर रहेको लमही प्रहरीले जनाएको छ ।