ग्वाटेमालाको ज्वालामुखीमा अहिलेसम्म कम्तीमा ९९ जनाको ज्यान गयो

२४ जेष्ठ २०७५, बिहीबार १०:०१

जेठ २४, काठमाडौं । एजेन्सी

ग्वाटेमालाको फुगो ज्वालामुखीमा भीषण विस्फोट भएपछि अहिलेसम्म कम्तीमा ९९ जनाको ज्यान गइसकेको छ ।

ज्वालामुखी पहाडको दक्षिण हिस्सामा रहेका अनेकौं गाउँ विस्फोटको धूलोमा दबिएको छ ।

नेसनल फरेन्सिक साइन्सेज एजेन्सीले रिपोर्टमा विस्फोटपछि मुर्दाघरमा ९९ मानिसको लाश ल्याइएको लेख्यो । तीमध्ये २८ जनाको पहिचान खुलेको छ । ज्वालामुखी विस्फोट भएयता लगभग २०० मानिस बेपत्ता छन् ।

एक सानी केटी घन्टौंसम्म ज्वालामुखीको खरानीमा थिचिएर पनि बाँचिरहेकी छन् । ज्वालामुखी विस्फोटपछि फैलिएको खरानीको चपेटामा परेर एउटा घर पूरै थिचिएको थियो । उद्धार कार्यका बेलामा प्रहरी अधिकारीले घरमा जीवित बच्ची देखे ।

तर यो घरसम्म पुग्न गाह्रो थियो । प्रहरी अधिकारी भ–याङ चढेर जसोतसो घरमा पुगे र बहादुरीपूर्वक बच्चीलाई जिउँदै निकाले ।

अचम्मको कुरा त घरै खरानीले ढाकिएपनि बच्चीको शरीरमा अलिकति पनि खरानी थिएन र ऊ राम्रो कपडा लगाएरै प्रहरी अधिकारीको बुइ चढेर बाहिर आई ।