नारायणगढ-मुग्लिनको सबै खण्डमा कालोपत्रेका साथै दैनिक बन्द पनि हट्यो

२३ जेष्ठ २०७५, बुधबार ०८:०२

जेठ २३, काठमाडौं ।

बहुप्रतिक्षित नारायणगढ-मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रेले जोडिएको छ । यससँगै हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुँदै आएको बन्द पनि हटेको छ ।

मंगलबार राति १२ बजे चेपाङ्ग डाँडाको घुम्तीको ६० मिटर सडकमा पहिलो तहको कालोपत्रे गरेपछि सबै सडक कालोपत्रेले जोडिएको हो । अब सडकखण्डमा कहिँ पनि खाल्डाखुल्डी, धुलो र हिलोको समस्या हुने छैन ।

 

‘सडक निर्माणका लागि भन्दै विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म ६ घण्टा गरिएको बन्द आजबाट हटाइएको छ,’ सडक आयोजनाका इन्जिनियर एवम् सूचना अधिकारी शिव खनालले भने, ‘अब सडक बन्द गरेर नै काम गर्नुपर्ने अवस्था छैन ।’

 

गएको पुस १८ गतेबाट दैनिक विहान १० देखि ४ बजेसम्म नारायणगढ-मुग्लिन सडक खण्डमा यातायातका साधन चलाउन बन्द गरेर काम हुँदै आएको थियो ।

 

आयोजनाका सूचना अधिकारी खनालले भत्काइएको तीन वर्षपछि सडकखण्ड पूर्णरुपमा कालोपत्रे गर्न सफल भएको जानकारी दिए ।