जेठ २२, काठमाडौं । एजेन्सी
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्प पछिल्ला २५ दिनमा कुनै सार्वजनिक समारोहमा नदेखिएपछि उनको मिर्गौलाको शल्यक्रिया गरिएको अनि उनले आराम गरिरहेको बताइयो ।
तर मानिसहरूले कतै मेलानियाले गोप्य रूपमा प्लास्टिक सर्जरी त गराएकी होइनन् भनी अडकल काट्न थालेका छन् ।
सोमवार साँझ आयोजित अमेरिकी सैनिकहरूको परिवारको कार्यक्रममा मेलानिया देखिइन् तर मिडियालाई उनीकहाँ पहुँच दिइएन ।
मेलानियाको नियमित जाँच गरिएको र ठूलो शल्यक्रिया नभएको बताइएको छ । तर उनी पाँच दिनसम्म अस्पताल बसिन् र १९ मेमा मात्र ह्वाइट हाउस फर्किन् ।
यसले गर्दा अन्लाइनमा अनुमानका खेती हुन थाले । धेरैले उनी प्लास्टिक सर्जरी गर्नतिर लागेको त्यसैले सार्वजनिक नभएको बताए ।
मेलानियाकी प्रवक्ता स्टेफनी ग्रिशमले प्रथम महिला सिंगापुरमा उत्तर कोरियासँग हुने शिखर वार्तामा राष्ट्रपति डोनल्ड ट्रम्पसँग नजाने बताएकी थिइन् । क्यानाडामा हुने जी ७ शिखर वार्तामा पनि उनी ट्रम्पसँग हुने छैनन् ।
मेलानियाले आफ्नो स्वास्थ्यका विषयमा भइरहेका अनुमानलाई विश्राम दिँदै अघिल्लो हप्ता ट्वीट गर्दै आफूलाई एकदम राम्रो लागेको र ह्वाइट हाउसमै बसेको बताइन् ।
