जेठ २२, काठमाडौं । एजेन्सी
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले एक लाइभ कार्यक्रममा फिलिपिनो मूलकी महिलाको ओठमा चुमेपछि विवाद उठेको छ ।
(हेर्नुस् भिडियो)
दक्षिण कोरियाको भ्रमणमा रहेका डुटेर्टेले एक भीडलाई सम्बोधन गर्ने क्रममा एक महिलालाई मञ्चमा बोलाएर किस गरिदिए ।
यो दृश्यले भीडको ध्यान आकर्षित ग–यो । भेलामा धेरैजसो फिलिपनो कामदारहरू थिए ।
फिलिपिन्सको गेब्रिएला समूहले राष्ट्रपति डुटेर्टेलाई यसका लागि आलोचना गरेको छ । यो घिनलाग्दो काम भएको र राष्ट्रपति महिलाविरोधी भएको उसले बताएको छ । तर राष्ट्रपतिबाट चुमिएकी महिलाले उक्त किसमा कुनै दुर्भावना नरहेको बताइन् ।
डुटेर्टेमाथि यसअघि पनि महिलामाथि अनुचित व्यवहारको आरोप लागेका छन् ।
फिलिपिन्सका दुई महिलालाई राष्ट्रपतिलाई एक किताबको निःशुल्क प्रति दिन मञ्चमा बोलाइएको थियो । डुटेर्टे छेउमै उभिरहेका थिए । उनले एक महिलालाई अँगालो हाले र गालामा किस गरे । त्यसपछि उनले अर्की महिलालाई ओठैमा चुमे ।
राष्ट्रपतिले बारम्बार महिलाविरोधी बयान दिएको आरोप लागेको भएपनि उनी फिलिपिन्स र विदेशमा रहेका फिलिपिनो मजदूरका बीच लोकप्रिय छन् ।
फिलिपिनो मूलका विदेशी मजदूरले डुटेर्टेलाई मन पराउने किनकि उनले फिलिपिन्सको दह्रो अडान प्रस्तुत गरेको बताएका छन् ।
