चीनको आड पाएर भारतलाई माल्दिभ्सले हप्कायो

२२ जेष्ठ २०७५, मंगलवार ०८:१४

जेठ २२, काठमाडौं । एजेन्सी

दक्षिण चीन सागरमा भारतले उपस्थिति बढाउन खोजिरहेको बेलामा माल्दिभ्सले यसमा अवरोध पु–याइरहेको छ । हिन्द महासागर टापुसमूहयुक्त देशमा कुनै समयमा भारतको उपस्थिति अर्थपूर्ण रहे पनि माल्दिभ्सको अब्दुल्ला यामीन सरकारले भारतलाई अप्ठ्यारोमा पारिरहेको छ ।

यसै क्रममा यामीन सरकारले माल्दिभ्सलाई भारतले दिएको एएलएच ध्रुवलाई लामू अटोलबाट हटाउन भनेको छ ।

यो हेलिकप्टरको लेटर अफ एक्सचेन्जको समयसीमा अघिल्लो महिना नै सकिएको थियो । माल्दिभ्सले यसलाई नवीकरण गर्न त मानेन नै, उल्टो हेलिकप्टर नै हटाउन भनेको छ ।

भारतलाई हप्काउने शलीमा माल्दिभ्सले जुन महिनाको अन्त्यसम्ममा दुवै हेलिकप्टर हटाउन पनि भनेको छ ।

भारतले माल्दिभ्सलाई दुईवटा एएलएच हेलिकप्टर दिएको थियो । समाचारमा आएअनुसार, यामीन सरकार हेलिकप्टरको स्याहारका लागि तैनाथ रहेका भारतीय जलसेनाबाट खुशी छैन । अधिकारीहरूको उपस्थिति भएकैले माल्दिभ्सले भारतीय हेलिकप्टर हटाउन भनेको हो ।

यसैबीच मालेमा एक प्रहरी एकेडमी निर्माण गर्न भारतले सहयोग गरिरहेकोमा त्यसको काम पनि रोकिएको छ । त्यहाँका् अध्यागमन विभागले भारतीयहरूलाई आउन रोक लगाएको छ । निर्माण कार्यका बेलामा भारतीय अधिकारीहरू हुनु आवश्यक छ ।

हेलिकप्टर राखिएको लामू तट भारतका लागि महत्त्वपूर्ण लोकेसन हो । चीनले त्यहीँनजिक एक समुद्री तट निर्माण गर्दैछ । पहिला पनि चीनले माल्दिभ्सका तटहरूमा बन्दरगाह बनाउने इच्छा देखाएको थियो ।