ज्वालामुखी बिस्फोटमा मृत्यु हुनेको संख्या ६२ पुग्यो

२२ जेष्ठ २०७५, मंगलवार ०८:०१

जेठ २२, काठमाडौं । एजेन्सी

ग्वाटेमालामा ज्वालामुखी बिस्फोट हुँदा मृत्यु हुनेको संख्या ६२ पुगेको छ । त्यहाँ आइतबार दिउँसो ज्वालामुखी विस्फोट भएको थियो ।

राजधानी ग्वाटेमाला सिटीबाट झण्डै ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको फुएगो ज्वालामुखीबाट ताता चट्टान, कालो धुवाँ र खरानी निस्किएको छ । ज्वालामुखी विस्फोट भएपछि निकै तातेका चट्टान, खरानी तथा लाभाहरु गाउँसम्म आइपुग्दा पूरै गाउँ नै ध्वस्त भएको छ ।

हजारौँ मानिसलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा लगेर अस्थायी सेल्टरमा राखिएको बिबिसीले उल्लेख गरेको छ । ज्वालामुखी बिस्फोटका कारण खरानी १० किलोमिटर माथि आकाशमा पुगेको थियो ।

उद्दारकर्मी तथा सुरक्षाकर्मीले ज्वालमुखीमा परी हराएका मानिसको खोजीका लागि अग्नीनियन्त्रकहरुलाई सहयोग गरिरहेका छन् । अहिले ज्वालमुखी शान्त भएको छ र खरानी पनि झर्न कम भएको छ ।

यो सन् १९७४ यताकै सबैभन्दा ठूलो ज्वालामुखी विस्फोट हो ।