जेठ २१, काठमाडौं ।
एक साताअघि कैलालीको धनगढी उपहानगरपालिका–१ मेन रोडमा गोली हानेर ९ लाख रुपैयाँ लुट्ने समूहका योजनाकार काठमाडौंबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना छन् । उनीसँगै कैलालीको धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीय राम प्रवेश रानालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबु क्षेत्रबाट सोमबार बिहान पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले बताए ।
सिंहका अनुसार राना घटनाका मुख्य योजनाकार हुन् । ‘घटनामा उनैले आईएमईका कर्मचारीमाथि गोली प्रहार गरेका थिए’, सिंहले भने, ‘उनीहरु ९ लाख ५० हजार रुपैयाँ लुटेर फरार रहेको सुचना प्राप्त भएपछि हामीले निगरानी बढाएका थियौं ।’
यसअघि १३ जेठमा आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी-३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको थियो ।
बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका उनीहरूले गाेली प्रहार रकम लुटेर भागेका थिए ।
स्रोतका अनुसार कल्लुले गोलीले प्रहार गरेर लुटेको स्वीकार गरिसकेका छन् ।
