योजनाबद्ध १ किलो सुन लुटियो, ३ जना पक्राउ

२० जेष्ठ २०७५, आईतवार ०७:०४

जेठ २०, काठमाडौं ।

साढे ३३ किलोसहित ३८ क्विन्टल सुन तस्करीको विषयमा देशव्यापी चर्चामा भइरहेका बेला संघीय राजधानी काठमाडौंमा लुटेराको समूहले १ किलो ‘सुन’ लुटेका छन् ।

जेठ १० गते काठमाडौंको दहचोकबाट १ किलो सुन लुटिएको घटना सार्वजनिक भएको हो ।

काठमाडौंबाट ट्याक्सी बुक गरेर पोखरातर्फ जाँदै गरेका ओमनाथ देवकोटाको साथमा रहेको १ किलो सुन लुटिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार गोंगबु बस्ने कुमार केसीले सोनाम भनिने नेमजुङ तामाङसँग १ किलो सुन खरिद गर्ने सहमति भएको थियो । सुनवापतको रकमअन्तर्गत तत्काल १० लाख रुपैयाँ दिने र बाँकी रकम सुन बिक्री भएपछि दिने सहमति भयो ।

सुन बिक्रीका लागि ग्राहक खोज्ने काम भने देव भन्ने कोतबहादुर तामाङले गरेका थिए । सुनका ग्राहक कुमार केसी कामको शिलसिलामा पोखरा गएकाले उनले पोखराबाटै आईएमई गरेर ९ लाख ५० हजार रुपैयाँ पठाए, ओमनाथ देवकोटाले पाउने गरी ।

देवकोटाले उक्त रकम सोनाम भनिने नेमजुङ तामाङलाई दिए र उनीबाट १ किलो सुन लिए । त्यसपछि कुमार केसीले पठाएको बा २ ज १९२३ नम्बरको ट्याक्सी चढेर पोखराका लागि निस्किए ।

देवकोटा सुन बोकेर ट्याक्सीमा पोखराका लागि हिँडेपछि सुनका ग्राहक खोज्ने देव भनिने कोतबहादुरले भने सुन लुट्ने योजना बनाइसकेका थिए ।

कोतबहादुरले काठमाडौंबाट १ किलो सुनसहित ट्याक्सी पोखरा जान लागेको र त्यसमा रहेको सुन लुट्नुपर्ने भन्दै आफ्ना साथी नविन गुरुङलाई खबर गर्छन् । नविनले लुटपाट गर्ने गिरोहका निमा लामालाई खबर गरेर ट्याक्सीको पिछा गर्न लगाउँछन् ।

निमाले आफ्ना समूहका राजीवकुमार ब्लोन, अर्जुन तामाङ, बासनस श्रेष्ठलाई बा ७४ प २७९१ नम्बरको मोटरसाइकल, बा ६६ प ३१५६ नम्बर स्कुटर र एउटा स्कार्पियो गाडी समेत लगाएर ट्याक्सीको पिछा गर्न शुरु हुन्छ ।

गोंगबुबाट पोखराका लागि हिँडेको ट्याक्सीलाई दहचोक पुग्नेबित्तिकै बीच सडकमै रोकिन्छ । ट्याक्सीका ड्राइभर र सुनका भरिया देवकोटालाई कुटपिट गरी सुन लुटपाट हुन्छ ।

तर प्रहरीले लुटिएको भनिएको सुन नक्कली भएको बताएको छ । प्रहरीले सुनसहित लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङका सोनाम भनिने नेमजुङ तामाङ, सिन्धुली कमलामाइका ओमनाथ देवकोटा, धादिङ रुवीभ्यालीका कोतबहादुर तामाङ छन् ।