आज विजयादशमी, टिकाको साईत ११:५५ मिनेटमा

१४ आश्विन २०७४, शनिबार ००:०३

काठमाडौँ, १४ असोज ।आज बढादशैं अर्थात् विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनको हातबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर ०१ मिनेटमा रहेको जनाएको छ । टीका प्रसाद ग्रहण गर्न उत्तम साइतको लागि भने ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्तय मानिसले साइत खोज्नु नपर्ने पनि उहाकोे भनाई छ ।

आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दशैँकै सबैभन्दा बढी महत्वपूर्ण दिन मानिन्छ ।