करोडौंको क्षति पुर्यायो चितवनमा हावाहुरीले

२८ बैशाख २०७५, शुक्रबार ०८:४२

वैशाख २८, काठमाडौं ।

चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा रु ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।

प्रारम्भिक विवरणअनुसार केरामा मात्रै रु ४० करोडको क्षति भएको र बाँकी तरकारी तथा मकैमा रु दुई करोड ५० लाखको क्षति भएको कार्यालयका प्रमुख सुधिर श्रेष्ठले बताएका छन् ।

“अहिलेसम्म साढे ४२ करोड रुपैयाँको क्षति भएको तथ्यांक आएको छ”, श्रेष्ठले भने, “काम जारी रहेको र निवेदन आउने क्रम रहेकाले क्षति अझै बढ्ने अनुमान छ ।” उनले विवरण संकलनको काम जारी रहेको बताए । यही वैशाख २३ गते रातिको भीषण हावाहुरी र असिनापानीले चितवनको कृषि क्षेत्रमा यसरी नोक्सान गरेको हो ।