अब महानगरले मात्र घरबहाल कर उठाउने

२७ बैशाख २०७५, बिहीबार ०९:४६

वैशाख २७, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले अहिलेसम्म दोहोरो रूपमा उठाइँदै आएको घरबहाल कर अब आफैँ उठाउने निर्णय गरेको छ ।

सरकारले घरबहाल कर उठाउने दोहोरो प्रणाली खारेज गर्दै स्थानीय तहलाई सो अधिकार दिएपछि महानगरले आफैँ उठाउने निर्णय गरेको हो । १६औँ नगर कार्यपालिकाको बैठकले सम्पूर्ण कर महानगरले नै उठाउने निर्णय गरेको राजस्व विभागीय प्रमुख राज्यप्रकाश प्रधानांगले जानकारी दिए । स्थानिय सरकार संरचना ऐन ०७४ को दफा १०२ को उपदफा १ मा व्यवस्था भए बमोजिम सो कर महानगरपालिकाले लिने निर्णय भएको उनको भनाइ छ ।

आर्थिक वर्ष ०७३÷७४ साउनदेखि नै महानगरले एकलौटी रूपमा सो राजस्व लिन खोजे पनि राजस्व विभागको असहमतिका कारण २ प्रतिशत महानगर र १० प्रतिशत विभागले संकलन गर्दै आएको थियो । लामो समयको विवादका बीच गत चैत्र १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले कर उठाउने दायित्व स्थानीय तहको भएको भन्दै विभागलाई सो करको दायराबाट हटाएको थियो । १० प्रतिशत विभागले लिइरहेको वेला ०७४ साउनदेखि महानगरले पनि १२ प्रतिशत नै कर उठाउन थालेपछि चर्को विवाद भएको थियो ।

विवादका कारण महानगरलाई १२ र विभागलाई १० गरी २२ प्रतिशत कर तिर्नुपरेको भन्दै सर्वसाधारणले आक्रोश पोखेका थिए । महानगरले पहिला २२ प्रतिशत कर तिरिसकेका घरधनीलाई १२ प्रतिशत राखेर १० प्रतिशत भने फिर्ता गर्ने निर्णय गरेको छ । ‘पहिला दुवैतिर कर तिर्नेहरूको १२ प्रतिशत मात्र कटाएर बाँकि १० प्रतिशत फिर्ता गर्ने निर्णय भएको प्रधानांगको भनाइ छ । हाल महानगरपालिकाभित्र करिब १ लाखले घरबहाल कर तिर्ने गरेको राजस्व विभागीय प्रमुख प्रधानांगले बताएका छन् ।

आर्थिक वर्ष ०७३÷७४ मा घर बहाल करबापत १६ करोड महानगरमा राजस्व जम्मा भएको थियो भने ०७४÷७५ वैशाख १५ सम्ममा २१ करोड राजस्व जम्मा भएको प्रधानाङगले जानकारी दिएका छन् । स्थानीय सरकार संरचना ऐन अनुसार काठमाडौं महानगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम वा अन्य सम्पत्रि पुरै वा आंशिक तवरले बहाल दिएकोमा बहाल अंकको १२ प्रतिशतका दरले बहाल कर संकलन गर्ने गरेको छ । क्षेत्रगत आधरमा महानगरपालिका नगरकार्यपालिकाले न्यूनतम बहाल कर तोक्न सक्ने व्यवस्था रहेको छ ।