पीएसजीले हात पार्यो फ्रेन्च कपको उपाधि

२६ बैशाख २०७५, बुधबार ०९:४३

वैशाख २६, काठमाडौं ।

पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले घरेलु प्रतिस्पर्धामा उपाधिमाथि ह्याट्रिक गरेको छ। लिग वानको उपाधि विजेता पिएसजीले मंगलबार राति फ्रेन्च कपको उपाधिसमेत जितेको हो । यसअघि उसले फ्रेन्च लिग कपको उपाधि पनि जितेको छ ।

हिजो राति भएको फाइनलमामा तेस्रो डिभिजनको लेसलाई २-० गोलले हराउँदै पिएसजीले उपाधि जितेको थियो ।

पिएसजीको जितमा जिओभानी लो सेल्सो र एडिसन काभानीले गोल गरेका थिए । खेलको २६ औ मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि पनि पीएसजीले पहिलो हाफमा अर्को गोल गरेपनि मान्यता पाएको थिएन । भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को सहयोगमा पिएसजीको गोलले मान्यता नपाएको हो ।

तर ७४ औं मिनेटमा काभानीले पेनाल्टी मार्फत गोल गर्दै टिमको अग्रता दोब्बर बनाएको हो । बाँकि समयमा लेस खेलमा फर्कन सकेन ।

पिएसजीले लगातार चौथो सिजन फ्रेन्च लिग र लिग कपको उपाधि उचालेको छ । पिएसजी फ्रेन्च कपका पछिल्ला ४२ खेलमा अपराजित छ । फ्रेन्च कपमा सन् २०१४ को जनवरी २२ यताका कुनै पनि खेलमा पिएसजी हारेको छैन ।