चलचित्र ‘लम्फू’ प्रचार यात्रामा “तरकारीवाली”को बिषयमा प्रश्न

२५ बैशाख २०७५, मंगलवार ०९:४०

वैशाख २५, काठमाडौं ।

चलचित्र ‘लम्फू’ आउँदो शुक्रबारदेखि रिलिज हुँदैछ । वैशाख २८ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको मोफसल प्रचार यात्रा सकिएको छ । मोफसल प्रचार यात्रामा यसको निर्माणपक्षले सर्वाधिक धेरै ‘तरकारीवाली’को बिषयमा प्रश्नको सामना गरेको थियो ।

चलचित्रको प्रचारका लागि मोफसलमा नायक कविर खड्का, सञ्जित भण्डारी, आयान खड्का, निर्देशक गोपालचन्द्र लामिछाने, निर्माता शक्तिबल्दभ घोरासैनी पुगेका थिए ।

धरान, दमक, हेटौडा, चितवन र पोखराका पत्रकारहरुले निर्माता र निर्देशकलाई ‘तरकारीवाली’को बारेमा धेरै प्रश्न सोधेका थिए । यसबिषयमा बोल्दै निर्देशक लामिछानेले चलचित्रमा कुसुम श्रेष्ठ ‘तरकारीवाली’लाई गलत तवरले चलचित्रमा प्रयोग नगरिएको बताए । उनले, चर्चाका लागि मात्र कुसुमलाई प्रयोग नगरिएको भन्दै उनको भूमिका विशेष रहेको सुनाए । निर्देशक लामिछानेले यो चलचित्र अमलाको स्वाद जस्तो रहेको सुनाए । उनले भने–‘मेरो चलचित्र अमलाको स्वाद जस्तो छ । सुरुमा टर्रो, खाँदै जाँदा स्वादिलो ।’

चलचित्रका नायक कविरले ‘लम्फू’बाट आफ्नो भाग्य निर्धारण हुने समेत बताए । उनले आफूलाई सबैले लम्फू भनेर बोलाउँदा खुशी लागेको बताए । निर्माता घोरासैनीले चलचित्र बहुप्रतिक्षित नरहेपनि उत्कृष्ट रहेको बताए ।

चलचित्रमा सलोन बस्नेत, मरिष्का पोख्रेल, चाँदनी शर्मा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।