पिडीत केरा किसानलाई नगरपालिकाले सहयोग गर्ने, करोडौं घाटामा

२५ बैशाख २०७५, मंगलवार ०७:५२

वैशाख २५, काठमाडौं ।

वैशाखको हावाहुरी र असिनाले चितवनका केरा किसानका बर्षभरीको दुःख छिनभरमा नै नष्ट गरेको छ ।

केहीघण्टा अघिसम्म लहलह देखिएको केराबारी एकैछिनमा सोत्तर भएर ढल्यो । चितवनका अगु्वा किसान यज्ञप्रसाद सुवेदीले ३० विघामा लगाएको केराखती असिनापानीले नष्ट गरेको छ ।

‘क्षतविक्षत हुने गरी केरा ढलेका छन् । कहिँ कतैं आशा जीवित छैन’ सुवेदीले भने । केरा उत्पादक संघका निवर्तमान अध्यक्षसमेत रहेका सुवेदीले करिब २० करोड रुपैयाँको क्षति भएको अनुमान गरेका छन् । आफ्नो केराखेतीको ८० प्रतिशत नष्ट भएको उनले बताए ।

यतिबेला किसानको बारीमा मालभोग केरा तयार हुँदै थियो ।

गानो कुहिने, गुभो कुहिने, पात मर्ने रोगबाट जोगाएको केरा प्रकृतिसँग जोगाउन नसकिएको बताउँछन् चितवन केरा उत्पादक संघका अध्यक्ष बिष्णुहरि पन्त ।

नगरपालिकाको सहयोग गर्ने वचन

चितवनमा विमा गर्ने किसानको संख्या गत वर्ष भन्दा पनि घटेको छ । त्यसैले यस वर्ष क्षतिको मार किसानले मात्र भोग्नुपर्ने अवस्था आएको संघका अध्यक्ष पन्तले बताए ।

कालिका नगरपालिकाका प्रमुख गोपी श्रेष्ठले क्षतिको तथ्याङ्क संकलन सुरु गरिएको जानकारी थिए । प्रदेश नं ३ का कृषि मन्त्री दावा दोर्जे लामा, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसहितको टोलीले अनुगमन गर्ने तयारी भएको प्रमुख श्रेष्ठले बताए ।

कालिका नगरपालिकाको १ देखि ७ सम्म हावाहुरी र असिनाले बढी क्षति गराएको छ ।

विपत्तिमा परेका किसानलाई नगरपालिकाले क्षतिको मुल्याङ्कनको आधारमा सकेको सहयोग गर्ने नगरप्रमुख श्रेष्ठको भनाइ छ ।