वैशाख २४, काठमाडौं ।
यातायात क्षेत्रको सिण्डिकेट तोडेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अब मदिरा नियन्त्रण अभियान संचालन गर्ने भएको बताएका छन् । समाज र परिवारमा विखण्डनको प्रमुख कारण बनेको मदिरा नियन्त्रण्को लागि देशव्यापी रुपमा अभियान संचालन गर्ने बताएका हुन् ।
मदिरा नियन्त्रणबारे बादलले आइतबार विभिन्न राजनीतिक पार्टी आवद्ध महिला नेतृ र महिला सांसदहरुसँग आज गृहमन्त्रालयमा छलफल गरेको बताइएको छ । नेतृहरुसँग गृहमन्त्रीले रचनात्मक सुझाव र सहयोग गर्न आग्रह गरेका थिए । उनले पछिल्लो समय बढीरहेको महिला हिंसाको कारण समेत बनेको मदिराबाट राज्यले पाउँदै आएको कर भन्दा त्यसको प्रयोगले समाजमा ल्याएको विकृति कैयौँ गुणा घातक रहेको टिप्पणी गरेका थिए ।
देशभर रहेको करिब छ हजार पाँच सय स्थानीय तहका वडाहरुमा विभिन्न राजनीतिक पार्टी आवद्ध महिला संगठनका प्रतिनिधि, जनप्रतिनिधि, आमा समुह, नागरिक समाज र सुरक्षाकर्मी रहनेगरी समिति गठन गरी वडास्तरबाटै जनसहभागितामा मदिरा नियन्त्रणको अभियान सञ्चालन गर्ने मन्त्रालयको तयारी रहेको छलफलमा गृहमन्त्रीले जानकारी गराएका थिए ।
गृहमन्त्री बादलले तत्काल मन्त्रालयले ६ महिने अभियान सञ्चालनका लागि आवश्यक गृहकार्य गरीरहेको गृहमन्त्रीले जानकारी दिँदै अभियानसँगै मदिरा नियन्त्रणको ‘जागरण अभियान र भण्डाफोर’ कार्यक्रम आयोजना गरिने बताए ।
यस अभियान गाउँगाउँसम्म पुर्याउने र अटेर गर्नेलाई सामाजिक बहिस्कार गर्न लगाउने र जनयुद्धमा जस्तै भाटे कारवाहीको योजना गृहमन्त्रीले बनाएको बताइएको छ ।
