सुन तस्करी र हत्या प्रकरणका अभियुक्तमध्ये ६ जनाको बयान सकियो, थप ५ जनाको सुरु हुँदै

२३ बैशाख २०७५, आईतवार ११:३२

वैशाख २३, काठमाडौं ।

साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणका अभियुक्तमध्ये आइतबारदेखि थप पाँचजनाको बयान लिन सुरु गरिएको छ । यसअघि जिल्ला अदालत मोरङले ५ जनाको बयान लिइसकेको बताएको छ ।

गत बिहीबार ६ जनाको बयान लिन सुरु गरिएकामा पाँचजनाको सकिएको थियो । शुक्रबार बयान नटुंगिएपछि टेकराज मल्ल ठकुरीको आइतबार बयान टुंग्याइएको हो । उनीबाहेक अरु पाँचजनाको बयान सुरु गरिएको जनाइएको छ ।

आइतबार बयान लिन सुरु गरिएकामा भुजुङ गुरुङ, राजेन्दकुमार शाक्य, महाबीरप्रसाद गोल्यान, प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल, लालबहादुर मगर र वीरेन्द्रमान श्रेष्ठ छन् ।

यसअघि बयान सकिएकाहरुमा माधव भनिने मदनकुमार घिमिरे, मोहन काफ्ले, लाक्पा शेर्पा, कृष्ण भनिने नरेन्द्र कार्की र राजन कुमार छन् । अदालतका स्रेस्तेदार नवराज दुलालका अनुसार बैशाख २५ सम्ममा सबैको बयान लिइसकेर थुनछेकको वहस सुरु गर्ने अदालतको तयारी छ ।

यसैबीच, उक्त प्रकरणमा मुछिएका थप एक आरोपी मोरङ प्रहरीको सम्पर्कमा आएका छन् । उक्त प्रकरणमा मुछिएर फरार रहेका चितवन जगतपुर ७ घर भएका प्रहरी हवल्दार अमरवहादुर थापा शुक्रबार साँझ प्रहरीको सम्पर्कमा आएका थिए । उनलाई आइतबारै जिल्ला अदालत मोरङमा उपस्थित गराइएको बताइएको छ ।

मोरङ प्रहरीले यसअघि नियन्त्रणमा रहेका ३० जनासहित फरार भनिएका ३३ गरी ६३ जनाविरुद्ध जिल्ला न्यायधिवक्ताको कार्यालयमा अभियोगपत्र जिल्ला अदालत मोरङमा बुझाएको थियो । ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्दा अदालतमा दर्ता गरिएको थियो । उनीहरुविरुद्ध १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गरिएको बताएको छ ।

उक्त काण्डमा मुछिएका प्रहरी हवल्दारसहित प्रहरीको न्यायिक हिरासतमा रहनेको संख्या अब ३० पुगेको पाइएको छ । यसअघि पूर्व र बहालवाला प्रहरीहरु पूर्व डिआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपीद्वय सञ्जयवहादुर राउत र प्रजित केसी र सई वालकृष्ण सन्जेल र जवान सञ्जीव शाक्य पक्राउ परेका थिए ।

फागुन १८ गते सुन तस्करीमा संलग्न समूहका व्यक्तिहरुले भरिया सनम शाक्यको मोरङको उर्लाबारीमा हत्या गरेका थिए । हत्याको भोलिपल्ट विराटनगर आएको बा१२च ५९६३ नम्बर स्कारपियो गाडीमा शाक्यको शव फेला परेको थियो । त्यही दिन प्रहरीले समूहमा संलग्नमध्ये गाडी चालक टेकराज ठकुरी, नरेन्द्र कार्की र मोहन काफ्लेलाई पक्राउ गरेको बताएको छ ।