तेल भएर पनि नबाड्ने पम्पलाई कारबाही गर्ने

२० बैशाख २०७५, बिहीबार १२:०९

वैशाख २०, काठमाडौं ।

रुपन्देहीमा बिहीबार मात्रै बहाली भएका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले तेल आपूर्ति सहज बनाउने प्रतिबद्धता जनाएका छन् ।

उनले तत्कालै अनुगमन सुरु गरिने र बैठक बोलाएर रुपन्देहीको सुरक्षा ब्यबस्थालाई समेत चुस्त बनाउने उल्लेख गरे ।

‘अनलाइन पद्धतिको नाममा तेल आपूर्ति र बितरण असहज बनाउन हुँदैन, उपभोक्तालाई सहज हुने किसिमले समस्या समाधान गरिहाल्न म निर्देशन दिन्छु ।’

रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलको आयोजनामा सरोकारवालाबीच भएको साक्षात्कार कार्यक्रममा बोल्दै उनले तेल भएर पनि नबाड्ने पम्पलाई कारबाही गर्ने बताए ।

नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रीय डीपो रुपन्देही भलबारीका प्रमुख अशोक शाहले १ हप्तादेखि सुनौतीमा रहेको भारतीय कस्टममा अनलाइन सिष्टम लागू भएकाले आयातमा समस्या (ढिलाइ) भएको बताए ।

अहिले यो क्षेत्रमा २ लाख ५० हजार लिटर पेट्रोलको माग छ भने करिब १२ लाख लिटर डिजलको माग रहेको उनले बताए । डीपोमा दैनिक इन्धन भरिएका ५० देखि ६० ट्यांकर ट्यांकर आउने गरेका छन् ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोशिएसनका अध्यक्ष प्रेम न्यौपानेले तेल बोक्ने ट्यांकरको संख्या नथपेसम्म इन्धन अभाब भैराख्ने दावी गरे ।