गोपाल पराजुलीमाथि छानबिन गरी कारबाही गर्न माग

२० बैशाख २०७५, बिहीबार ११:४१

वैशाख २०, काठमाडौं ।

डा. गोविन्द केसीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन् । पराजुलीले आफ्नो कार्यकालमा भ्रष्टाचार र न्यायिक अपचलन गरेको भन्दै त्यसको उचित छानबिन र कारबाही गर्न माग गरेका हुन् ।

पराजुलीले आफ्नो गलत क्रियाकलाप लुकाउन र राज्यबाट बढी सुविधा पाउन अनेक उपाय लगाइरहेको भन्दै केसीले त्यसका लागि सरकारी कर्मचारीलाई धम्कीसमेत दिएको आरोप लगाएका छन् ।

‘पूर्वप्रधान न्यायाधीश गोपाल पराजुली अहिले पनि आफ्नो किर्ते धन्दा लुकाउन, नाजायज रुपमा राज्यबाट बढी सुविधा पाउन र न्याय प्रक्रिया नै अवरुद्ध गरेर आफूले गरेका किर्ते र अपराधहरुका लागि दण्डित हुने अवस्था रोक्न अनेक तिकडममा लागिरहेको र जिम्मेवार सरकारी कर्मचारीहरुलाई ज्यानको धम्की दिने हदसम्म गिरेका छन्’ केसीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

निजामती किताबखानाले पराजुली गत साउनमा नै सेवा निवृत्त भइसकेको निर्णय पठाइसक्दा पनि सर्वोच्च प्रशासनले यसमा नाजायज चलखेल गरेको केसीले आरोप लगाएका छन् ।

केसीले अध्यादेशमार्फत जारी गरेको चिकित्सा शिक्षा ऐन तोडमोड नगरी संसदको आगामी बैठकबाट पारित गर्न पनि दलहरुलाई आग्रह गरेका छन् ।

त्यस्तै केसीले चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर्‍याएका त्रिविका पदाधिकारीलगायत सबै पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गर्न पनि माग गरेका छन् । त्यस्तै त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिन पनि माग गरेका छन् ।