सार्वजनिक विदा कटौतीमा प्रचण्ड भए असन्तुष्ट, बादल भन्छन् विदा कटौती सही

२० बैशाख २०७५, बिहीबार ०६:३५

वैशाख २०, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कटौति भएका सार्वजनिक बिदा पुनरावलोकनको पहल गर्ने बताएका छन् ।

आदिवासी जनजाति महासंघका प्रतिनिधिहरुसँगको भेटमा प्रचण्डले समुदायसँग छलफल नगरी विदा कटौती गर्दा समस्या आएको भन्दै पुनरावलोकनको पहल गर्ने जनाएका छन् ।

आदिवासी जनजाति नेताहरु विदा पुनरावलोकनको पहल गरिदिन आग्रह गर्दै बिहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका बताइएको छ । उनीहरुले सरकारले हटाएका सांस्कृतिक पर्वका विदा पुनरावलोकनको पहल गरिदिन माग गरेका पाइन्छ ।

जवाफमा प्रचण्डले भने, ‘अहिले दिइरहेको विदा कटौती गर्ने भन्ने छलफल भएको बिषय होइन । बिदाको पक्षमा तपाईंहरुलाई मेरो सहयोग हुन्छ ।’

उनले आदिवासी जनजातिका अगुवाहरुले पर्व विदा आदिवासी जनजातिको आन्दोलनको उपलब्धी भएको भन्दै सरकारले कुनै सल्लाहबिना नै विदा कटौति गरेको बताए ।

 

बादलको छुट्टै लाइन

माओवादी अध्यक्ष प्रचण्डले विदा कटौतीबारे असन्तुष्टि राखे पनि माओवादी केन्द्रकै महासचिवसमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादलले भने विदा कटौती सही भएको बताए ।

केहीदिन अघि आदिवासी जनजाति महासंघका पदाधिकारीहरु विदा कटौतीको निर्णय पुनर्विचार गर्न माग गर्दै गृहमन्त्री बादललाई भेट्न पुगेका थिए । सो भेटमा गृहमन्त्रीले आदिवासी नेताहरुलाई भने, ‘देशमा विदा बढी भएको छ, हामीले काम गर्नुपर्छ । वर्किङ आवर नबढाई समृद्धि हासिल हुँदैन ।’

मन्त्री बादलले यस वर्षको विदाबारे सरकारले निर्णय गरिसकेको हुनाले यस वर्ष यो निर्णय फेरबदल गर्न गाह्रो हुने बताएका छन् ।