वैशाख १८, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा स्वागत गर्ने तयारी भएको छ ।
गृहमन्त्री रामबहादुर थापाका अनुसार, भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणका क्रममा जनकपुर उत्रने र त्यहाँ प्रधानमन्त्री ओलीले स्वागत गर्ने कार्यक्रम राखिएको हो ।
प्रधानमन्त्री मोदी दुईदिने भ्रमणका लागि यही २८ गते नेपाल आउने कार्यक्रम छ । भ्रमणको औपचारिक जानकारी दुबै पक्षबाट एकैपटक हुने बताइएको छ ।
गृहमन्त्रीका अनुसार, भारतीय प्रधानमन्त्री मोदी पटनाबाट सीधै जनकपुर आउने र जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको बताइएको छ ।
मोदीलाई जनकपुरको बाह्रविघामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि प्रधानमन्त्री मोदी काठमाडौं आउने भएका छन् । उनले मुक्तिनाथको भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ ।
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका लागि आवश्यक तयारी तीव्र बनाउन निर्देशन दिइएको गृहमन्त्री थापाले बताए ।

