कम्युनिष्ट एकता अपरिहार्य, आवश्यकता : प्रचण्ड

१८ बैशाख २०७५, मंगलवार ०७:०३

वैशाख १८, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टको एकता अपरिहार्य आवश्यकता रहेको बताएका छन् ।

देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको अहिलेको सन्दर्भमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिदैँ उनले अग्रगामी कम्युनिष्टबीचको ध्रुवीकरणले मात्र मुक्तिकामी श्रमिक वर्गको हक र अधिकारको सुनिश्चितता हुने बताए ।

शुभकामना सन्देशमा उनले भनेका छन् – समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार हो । नेपाली जनताको मुक्तिकामी आन्दोलनमा श्रमिक वर्गको त्याग, तपस्या र बलिदानप्रति अध्यक्ष दाहालले कृतज्ञता ज्ञापन गरेका छन् ।

संविधानको सफल कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि मजदूर वर्गले आगामी दिनमा अग्रदस्ताको भूमिका निर्वाह गर्न सकोस् भन्दै दाहालले नेपाल र विश्वका मजदूरमा १२९ औँ मई दिवसको शुभकामना दिए ।