विदेशी कामदारको लागि कतारले न्युनतम तलब वृद्धि गर्ने

१८ बैशाख २०७५, मंगलवार ०५:१८

वैशाख १८, काठमाडौं ।

कतार सरकारले सन् २०१८ को अन्त्यसम्ममा विदेशी कामदारका लागि निर्धारण गरिएको न्यूनतम तलब वृद्धि गर्ने जनाएको छ ।

सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले श्रमिकमाथि गरिएको व्यवहारका कारण आलोचना भोगेपछि श्रम नीतिमा परिमार्जन गर्ने तयारी गरेको हो ।

अन्तर्राष्ट्रिय श्रम संगठनका महासचिव सरण बुरोजले कतारी श्रममन्त्रीसँगको भेटपछि भनिन्– यसै वर्षको अन्त्यसम्ममा विदेशी कामदारका लागि तोकिएको न्यूनतम तलब बृद्धि गर्ने हामीले जानकारी पाएका छौं, यो खुसीको खबर हो ।’

बुरोजले कति तलब बढ्ने छ भन्ने आँकडा त दिएनन् तर श्रमिकको बढ्दो खर्चलाई मध्यनजर गरी रकम वृद्धि हुने अपेक्षा गरिन् ।

कतारले सन् २०१७ नोभेम्बरमा पहिलोपटक विदेशी कामदारका लागि मासिक २ सय अमेरिकी डलर ९७५० कतारी रियाल० न्यूनतम तलब निर्धारण गरेको थियो । मन्त्रीको भनाइ अनुसार काम भएमा पहिलोपटक न्यूनतम तलब वृद्धि हुने अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

सरण बुरोजले भनिन्, ‘बस्नका लागि हुने खर्चका तुलनामा कतारले अहिले दिइरहेको तलब पर्याप्त छैन ।’

पश्चिमि मुलुकहरुले विश्वकप आयोजनाका लागि संरचना निर्माण गर्न ठूलो संख्यामा विदेशी कामदारको प्रयोग भइरहेको छ । तर उनीहरुमाथि शोषण भएको भन्दै कतारमाथि श्रम नीतिमा सुधार गर्न दबाव दिँदै आएका थिए ।

कतारले न्यूनतम तलब, बस्ने सुविधा, बैंक खातामै कामदारको तलब दिनुपर्ने र काफाला सिस्टमको भिषा नीति परिवर्तन गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धताको अंशका रुपमा न्यूनतम तलब बृद्धि गर्न लागिएको बताइएको छ ।