स्क्रब टाइफसबाट २०१ जना संक्रमित

१० आश्विन २०७४, मंगलवार ०९:२३

काठमाडौं, १० असोज । चितवनमा दुई महिनामा २०१ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ८१७ जनाको परीक्षण गरिएकामा सो संख्यामा संक्रमित भेटिएका हन् ।

साउन १ गतेदेखि असोज ८ गतेसम्म भेटिएका संक्रमितमध्ये भरतपुर अस्पतालमा ६४, बकुलहर अस्पताल, रत्ननगरमा नौ, चितवन मेडिकल कलेजमा ५१, नारायणी सामुदायिक अस्पतालमा ६१, निर्णय डाइग्नोस्टिकमा १३, मनकामना अस्पतालमा दुई, सेन्टर अस्पतालमा एकजना संक्रमित भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीले जानकारी दिनुभयो ।

यस अवधिमा दुईजनाको मृत्यु भएको छ । मुसाको शरीरमा हुने सूक्ष्म माईट नामक किराले टोकेमा यो रोग सर्ने गर्छ । विशेषगरी झारपात र झाडीमा उक्त किरा खसेका बेला मान्छेमा टाँसिएर यसले टोक्दा यो रोग सर्ने गर्दछ ।