कांग्रेस पेचिलो बन्दै : देउवाको काम टाउको हल्लाउने र सुन्ने

११ बैशाख २०७५, मंगलवार ०७:५०

वैशाख ११, काठमाडौं

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा नेतृत्वमाथिको आरोप पेचिलो बन्न थालेको छ । पार्टी नेतृत्वको कार्यशैली र व्यवहारका कारण पार्र्टीले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा हार बेहोर्नुर्‘ परेको भन्दै नेताहरू खनिँदा सभापति शेरबहादुर देउवा आरोप सुन्दै टाउको हल्लाउँदै बसेका छन् ।


सोमबार बसेको बैठकमा नेतृ किरण यादवले सभापतिका कारण निर्वाचनमा हार बेहोर्नुर्‘ परेको भन्दै देउवाको आलोचना गरिन् । हारको जिम्मेवारी कमान्डरले स्विकार्नुपर्ने भन्दै उनले टिकट वितरणको प्रक्रिया गलत भएको बताइन् । गठबन्धन गरिएका स्थानमा तालमेल हुन नसकेको कारणले गर्दा कांगे्रस पछारिएको बताइन् ।
उनले निर्वाचनमा पैसाको शक्ति प्रदर्शन गर्ने काम मात्रै भएको बताइन् ।

अर्कोतर्फ केन्द्रीय सदस्य अम्बिका बस्नेतले भने निर्वाचनमा भएको हारको दोष सभापतिलाई मात्र थोपर्न नमिल्ने भन्दै सबैले आआफ्नो भूमिकाअनुसारको जिम्मेवारी स्विकार्नुपर्ने बताइन् ।

त्यसैगरी बैठकमा नेता कुलबहादुर गुरुङले देउवाको गलत प्रवृत्तिबाट हैरान भएको कुरा बताए । बैठकमा पार्टीका सबै कमिटी तत्काल भंग गरी महाधिवेशन गर्न माग गरिएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामका विषयमा केन्द्रीय सदस्यहरूबाट धारणा राख्ने क्रम जारी रहेको बताए ।

विश्वप्रकाश शर्माको अनुसार बैठकमा पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने विषयमा समेत नेताहरूको धारणा आएको छ ।