पुरै शहरलाई ‘निषेधित क्षेत्र’ बनाएको विवेकशील साझाले लगायो आरोप

७ बैशाख २०७५, शुक्रबार ०८:५९

वैशख ७, काठमाडौं ।

विवेकशील साझा पार्टीले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न रोक लगाएकोमा विरोध गरेको छ । यसले लोकतन्त्रप्रति सरकारको प्रतिवद्धतामा नै गम्भीर प्रश्न उठाएको उसले बताएको छ ।


जिल्ला प्रशासन कार्यालय काठमाडौंले विरोध प्रदर्शन गर्न नपाइने सात स्थान तोकेको छ । यो निर्णयले रत्नपार्क, माइतीघरमा समेत विरोध प्रदर्शन गर्न रोक लागेको छ ।

विवेकशील साझा पार्टीले शुक्रबार विज्ञप्तिमा निकालेर शान्तिपूर्णरुपमा गरिने जनप्रदर्शन कार्यक्रमलाई कमजोर पार्ने गरी लगभग पुरै शहरलाई ‘निषेधित क्षेत्र’ बनाएको छ ।

‘संविधानको धारा १७ ले व्यवस्था गरेको स्वतन्त्रताको हकको बिरुद्ध हुनेगरी आएको यो निर्णय लोकतन्त्रको मर्म विपरीत छ’ विज्ञप्तिमा भनेको छ, यसले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउने माध्यमका रूपमा शालीन एवं भद्र विरोधलाई अपनाउनेहरुलाई चिन्तित तुल्याएको छ ।’

प्रधानमन्त्रीले राराबाट लोकतन्त्रप्रति पूर्ण प्रतिबद्धता जनाएको २४ घण्टा नबित्दै आएको निर्णयले सरकारको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको उसले बताएको छ ।