उपत्यकाबाट बाहिरिनेको संख्यामा वृद्धि

८ आश्विन २०७४, आईतवार १०:५५

काठमाडौँ, ८ असोज । नेपालीहरुको महान चाड बडादशैँ नजिकिएसँगै दैनिक उपत्यकाबाट बाहिरिने यात्रीको संख्यामा वृद्धि भएको छ ।

घटस्थापनाका दिन १३ हजार ३४९ सवारी साधनमा ९७ हजार ३४०, दोस्रो दिन १३ हजार ३२१ सवारी साधनमा एक लाख सात हजार ७८ र तेस्रो दिन १४ हजार ४१९ सवारी साधनमा एक लाख ११ हजार ७३४ यात्री बाहिरिसकेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा घटस्थापना सुरु भएसँगै यात्रीको बाहिरिने संख्या वृद्धि भएको हो । घटस्थापनादेखि आजसम्म तीन दिनमा तीन लाख १६ हजार १५२ जना बाहिरिसकेका छन् ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले अरु समयमा दैनिक ७० देखि ८० हजारको हाराहारीमा यात्री बाहिरिने गरे पनि दशैँको सुरुसँगै बाहिरिनेको संख्यामा वृद्धि भएको बताउनुभयो ।

यसैगरी, यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दशैँका लागि ६ हजारको हाराहारीमा सार्वजनिक सवारी साधनले सेवा दिएको जानकारी दिनुभयो । यातायात व्यवस्था विभागले यो वर्ष दशैँ मान्न २० देखि २१ लाख यात्री बाहिरिने जनाएको छ ।