एमालेसँग माओवादीको नयाँ गुनासो, अर्थमन्त्रीले बजेटमा एमालेकरण गर्न खोजेको आरोप

३ बैशाख २०७५, सोमबार ०९:५९

वैशाख ३, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको पूर्वसन्ध्यामा गरेको सचिवहरुको सरुवाबारे माओवादी मन्त्रीहरुले गरेको नसेलाउँदै दुई पार्टीको विवाद आगामी बजेटको गृहकार्यमा सरेको छ ।

अहिले विभिन्न जिल्लाका स्थानीय तहका लागि छनोट गरिने विकास आयोजनाहरुका विभिन्न मन्त्रालयले बजेटको तयारी गरिरहेको र यसमा एमाले नेताहरुले माओवादीलाई उपेक्षा गरेको गुनासो माओवादी नेताले गरेका छन् । माओवादी सांसदहरुको यो गुनासो प्रचण्डसम्म पुगेको छ ।

 

एक माओवादी नेताले भने- ‘अस्तिमात्रै प्रधानमन्त्री आफूखुशी सचिवहरुको सरुवा गर्नुभो, अहिले नयाँ आर्थिक वर्षका लागि बजेट बनाउने बेलामा अर्थमन्त्री युवराज खतिवडाले एकलौटी गरिरहेका छन् । एमाले नेताहरुको यस्तो कार्यशैली हामीलाई स्वीकार्य छैन ।’

 

माओवादीका ती नेताले बजेटको तयारीमा अर्थमन्त्री खतिवडाले एमालेकरण गर्न खोजेको आरोप लगाए ।

 

माओवादीका शीर्षनेताहरुबीच पार्टी एकतासम्बन्धी छलफल सघन बनिरहेका बेला सचिव सरुवाको विवादले दुई दलबीचको सम्बन्धमा चिसोपन थपेको थियो ।

अहिले फेरि बजेटमा सत्तारुढ पार्टीकै बीचमा असन्तुष्टि देखिएको छ । तर, यो विवाद बजेटको बार्गेनिङ र लेनदेनमा गएर टुंगिन सक्ने नेताहरु बताउँछन् ।

माओवादी नेताले मागेका केही योजनाहरु अर्थमन्त्रीले आगामी बजेटमा समावेश गरिदिएपछि यो विवाद समाधान हुने एमाले नेताहरुको अनुमान छ ।

सरकारले अहिले नयाँ आर्थिक वर्षका लागि बजेटको गृहकार्य गरिरहेको छ ।