सुन तस्करीको नयाँ रुप; जुत्ताभित्र दुई केजी ८ सय ग्राम सुन, विमानस्थलबाट दुई भारतीय पक्राउ

२ बैशाख २०७५, आईतवार ०७:३३

वैशाख २, काठमाडौं ।

प्रहरीले दुई केजी ८ सय ३० ग्राम अवैध सुनसहित दुई जना भारतीय नगारिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक राहदानी नम्बर आर ४१५३०७४ भएका २० बर्षीय रोकेश पाडिगेला र राहदानी नम्बर पि ६८९६३१५ भएका २७ वर्षीय सन्तोष गाड कुन्डलवार छन् ।

उनीहरु फ्लाई दुबईको उडानमार्फत दुबईबाट काठमाडौं ओर्लिएका थिए । प्रहरीका अनुसार उनीहरुबाट बरामद सुनको मूल्य १ करोड ४१ लाख ९३ हजार ६ सय रुपैयाँ पर्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन गेटमा प्रहरीले चेक गर्दा दुवै जनाले जुत्ताभित्र लुकाएर ल्याएको अवस्थामा सुन भेटिएको थियो ।

बरामद सुन र उनीहरुलाई प्रहरीले आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय, सिनामंगलमा पठाएको छ ।