चैत २९, काठमाडौं ।
नेपाल र भारतबीच भएका पुराना सन्धि सम्झौताको पुनरावलोकनका लागि सुझाव दिन गठित प्रबुद्ध समूह (ईपीजी)को बैठक बिहीबारदेखि शुरु हुँदैछ । बैठक भारतको राजधानी नयाँ दिल्लीमा हुन लागेको हो ।
ईपीजीको छैटौं बैठकमा सहभागी हुन नेपाली समूह नयाँ दिल्ली पुगेको छ । बैठकमा नेपाल–भारत शान्ति तथा मैत्री सन्धि सन् १९५० को पुनरावलोकनको विषयमा छलफल चल्दै आएको छ । गत वर्ष असारमा भएको पहिलो बैठकदेखि नै दुई देशबीच भएका असमान सन्धि सम्झौता पुनरावलोकनका लागि छलफल चलिरहेको छ ।
नेपालले सन् १९५० सन्धिको धारा २, ५, ६ र ७ परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेको छ । दुई वर्षे कार्यावधि लिएर गठन भएको ईपीजीको पहिलो बैठकदेखि नै नेपालले सन् १९५० को सन्धि पुनरावलोकनको विषय उठाउँदै आएको छ । दुई दिनसम्म चल्ने बैठकमा केही विषय टुंगोमा पुग्ने अपेक्षा नेपाली टोलीले लिएको छ ।
२३ र २४ चैतमा काठमाडौंमा बसेको तेस्रो बैठकमा नेपालका तर्पmबाट सन् १९५० को सन्धि, व्यापार तथा पारवहन सन्धि र जलस्रोतसम्बन्धी सन्धि सम्झौतामा नेपालका तर्फबाट संशोधन पेस भएको थियो । नेपालका तर्फबाट सदस्य निलाम्बर आचार्यले सन् १९५० को सन्धि असमान भएको भन्दै संशोधन प्रस्ताव पेस गरेका थिए ।
त्यस्तै, नेपालले बैठकमा व्यापार तथा पारवहन सन्धिका विषयमा समेत चासोसहित संशोधनको विषय उठाएको थियो । बैठकमा जलस्रोतमा नेपाल र भारतबीच भएको सन्धिको समीक्षा गर्दै अगाडि बढ्नुपर्ने भन्दै नेपालका तर्फबाट टिप्पणी प्रस्तुत गरिएको थियो ।
