चैत २८, काठमाडौं ।
नेपाल र भारतबीचका सबैखाले सन्धि र सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को टोलीले प्रतिवेदनको मस्यौदा प्रतिवेदन तयारी अन्तिम चरणमा पुगेको छ ।

दुवै मुलुकका प्रधानमन्त्रीले ईपीजीले दिने प्रतिवेदन स्वीकार गर्ने बताएपछि टोलीले मस्यौदालाई अन्तिम रूप दिन लागेको हो । नेपाली टोली आठौं बैठकका लागि उत्साहसाथ बुधबार दिल्ली प्रस्थान गर्दै छ ।
नयाँदिल्लीमा बिहीबार र शुक्रबार बस्ने बैठकले सुझाव मस्यौदा निचोडमा पुर्याउने गरी सबै तयारी पूरा गरेको ईपीजीका अर्का एक सदस्यले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा उनी र भारतीय समकक्षी नरेन्द्र मोदीले मस्यौदा स्वीकार गर्ने बताएपछि दुवैतर्फका टोली उत्साहित भएका हुन् । दिल्लीमा भेटिएका भारतीय पक्षका संयोजक भगतसिंह कोसियारीले पनि ईपीजीको निष्कर्ष छिट्टै आउने बताए । मस्यौदा बाहिर ल्याउने गरी आठौं बैठक बस्न लागेको उनले जानकारी दिए ।
सातौं बैठकसम्म भएका दुईपक्षीय समझदारीलाई अन्तिम रूप दिन र प्रतिवेदनका मोडलसमेत फाइनल गरेर आठौं बैठक बस्न लागेको हो । यद्यपि यो नै अन्तिम बैठक भने नहुने एक सदस्यले अनुमान गरे ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा पनि सीमालगायत मुद्दाहरू ईपीजीमा छलफलकै क्रममा रहेको भन्दै दुईपक्षीय वार्ता त्यसमा प्रवेश नै गरेन । ईपीजी बैठकले नै ती मुद्दालाई अन्तिम रूप दिने गरी प्रक्रिया अघि बढेको हो ।
नेपाली टोली संयोजक डा. भेखबहादुर थापाले आफूहरू आठौं बैठकका लागि बुधबार त्यसतर्फ जाने बताउँदै भने, ‘यो बैठक निकै महत्त्वपूर्ण छ । यसमा हामीले सबै विषयलाई अन्तिम रूप दिने प्रयास गर्नेछौं ।’
दुई वर्षअघि ओली सरकारकै पालामा ईपीजी समूह बनेको हो । समूहले लगातार साढे २१ महिना काम गरिसकेको छ । अब दुई महिनामा यसको म्याद सकिनेछ । दिल्ली बैठकमा सबै विषयलाई अन्तिम रूप दिएर एउटा अर्काे बैठक काठमाडौंमा गर्दै प्रतिवेदन बुझाउने तयारी रहेको एक सदस्यले जानकारी दिए ।
