ठूलो सैन्य कारवाहीको तयारीस्वरुप ट्रम्पले गरे ल्याटिन अमेरिकाको भ्रमण रद्द

२८ चैत्र २०७४, बुधबार ०१:५७

चैत २८, काठमाडौं । एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकाको भ्रमण रद्द गरेका छन् । ट्रम्पको सट्टा उपराष्ट्रपति माइक पेन्स ल्याटिन अमेरिकाको भ्रमणमा जानेछन् ।

सिरियामा हालै भएको रसायनिक हमलापछि यसमै ध्यान केन्द्रित गर्नुपर्ने भएकाले राष्ट्रपति ट्रम्पको भ्रमण रद्द गरिएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसले भनेको छ, ‘राष्ट्रपति वाशिङ्टनमै रहनुहुनेछ र सिरिया मामलामा अमेरिकाको प्रतिक्रियामा केन्द्रित हुनुहुनेछ ।’

सिरिमा ठूलो सैन्य कारवाहीको तयारीस्वरुप ट्रम्पले ल्याटिन अमेरिकाको भ्रमण रद्द गरेको हुनसक्ने बीबीसीले जनाएको छ ।

हालै सिरियाको डुमा शहरमा रसायनिक आक्रमण भएको थियो । डुमामा दर्जनौं व्यक्तिको मृत्यु भएको अनुमान छ । तर, एकिन संख्या सार्वजनिक भएको छैन ।

रसायनिक हतियारको प्रयोगमा नजर राख्दै आएको अन्तर्राष्ट्रिय संस्था ‘अर्गनाइजेसन अफ प्रोहिबिसन अफ मेडिकल विपन्स’ (ओपीसीडब्लु)ले आफ्नो जाँचबुझ टोलीलाई डुमा शहरमा पठाएको छ ।

रसायनिक आक्रमणमा रुसको संलग्नता रहेको भनिए पनि रुसले त्यसलाई इन्कार गर्दै आएको छ । रुसले रसायनिक आक्रमणको विषयमा जाँचबुझ गर्न सघाउने प्रतिवद्धता जनाएको छ ।

डोनाल्ड ट्रम्पले यस हमलाको जवाफ ‘पूरै शक्तिका साथ’ दिने चेतावनी दिएका छन् । उनले सेनाको प्रयोगमा इन्कार पनि गरेका छैनन् ।

गत वर्ष सिरियामा विद्रोहीको कब्जामा रहेको इदलिब शहरमा भएको संदिग्ध रसायनिक हमलामा कम्तिमा ५८ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए ।

त्यसपछि अमेरिकाले मिसाइलमार्फत् सिरियाका एयरबेसमा आक्रमण गरेको थियो । सिरियाका राष्ट्रपति बसर अल असादका सेनाविरुद्ध अमेरिकाको यो पहिलो आक्रमण थियो ।

गत शनिबार भएको रसायनिक आक्रमणपछि अमेरिकाले फ्रान्स र व्रिटेनसँग यसबारे छलफल गरिरहेको छ र सैन्य कारवाहीको सम्भावनामा पनि रहेको बीबीसीले लेखेको छ ।

मंगलबार पनि ट्रम्पले व्रिटेनको प्रधानमन्त्री टेरिजा मे र फ्रान्सको राष्ट्रपति इमानुएल मेक्रोसँग फोनवार्ता गरेका छन् ।

वाशिङ्टनमा रहेकी बीबीसीका बारबारा उशर प्लेट भन्छिन्- ट्रम्पको ल्याटिन अमेरिका भ्रमण रद्द गर्ने निर्णयले यो भन्छ कि अमेरिकाको जवाफ सीमित हमलाको सट्टा ठूलो सैन्य कारवाही हुनसक्छ ।