नयाँ शक्तिले खाता खोल्यो, छिन्नमस्ताको प्रमुखमा मण्डल ‘कुरुड’ निर्वाचित

७ आश्विन २०७४, शनिबार ०३:०९

असोज ७, सप्तरी । नयाँ शक्ति पार्टी, नेपालले तेस्रो स्थानीय तह निर्वाचनमा खाता खोलेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा उसले विजयी बनेको हो ।

शनिबार बिहान सार्वजनिक परिणाम अनुसार, छिन्नमस्ता गाउँपलिकाको प्रमुखमा नयाँ शक्तिका उम्मेदबार सुर्यनारायण मण्डल ‘कुरुड’ निर्वाचित भएका छन् । उनी २८०५ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाका उम्मेदवार विमला देवी १३८५ मतमा रोकिइन् । यस्तै उप मेयरमा राजपाका उम्मेदवार उषा मण्डल निर्वाचित भएकी छन् । उषाले १७१० मत पाउँदा नयाँ शक्तिकी प्रमिलाले १५८० मत मात्रै पाइन् ।

सप्तरीमा १२ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । चार तहमा कांग्रेस, संघीय फोरम र राजपा ३र३ तहमा तथा एकमा एमाले र एकमा नयाँ शक्तिले जित हात पारेको छ । कांग्रेसले सुरुङ्गा नपासहित बेल्ही चपेना, कृष्णासवरण, विष्णुपुर गाउँपालिका, राजपाले डाक्नेश्वरी नपा तथा रुपनी र तिलाठी कोइलाडी गाउँपालिका, संघीय फोरमले बोदे बर्साइन नगरपालिका तथा तिरहुत र बलान बिहुल गाउँपालिका जितेको छ । एमालेले सप्तकोशी नगरपालिका जितेको छ ।