भारतीय पक्षले निर्माण गरिदिने एकीकृत चेकपोस्ट आईसीपी निर्माण अति सुस्त

२६ चैत्र २०७४, सोमबार ०८:३३

चैत २६, काठमाडौं ।

वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) निर्माण सम्पन्न भएर सञ्चालनमा आइसके पनि मोरङको बुधनगरमा भारतले निर्माण गरिदिने आईसीपीको काम भने सुस्त छ ।

सन् २००५ मा नेपाल र भारत सरकारबीच दुवै देशका सिमानामा पर्ने बिराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्ज नाकामा आधुनिक एवं सुविधासम्पन्न आईसीपी निर्माण गर्ने सहमति भएको थियो । तर, विराटनगरको बुधनगरमा गत फेब्रुअरी १ देखि निर्माणाधीन आईसीपीको काम भने जम्मा ३० प्रतिशत सकिएको छ ।

बुधनगरको आईसीपी दुई वर्षभित्र बनाइसक्ने लक्ष्य थियो । सो लक्ष्यअनुसार १ वर्षको समय गुज्रिसकेको छ ।

आईसीपी निर्माणको जिम्मा भारतीय कम्पनी दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालि अहमदावादले पाएको छ । सञ्चालक अवधेशकुमार साहले बुधनगरमा आईसीपीका लागि तयार पार्ने भबन र घेराबेरा गर्ने लगायतका काम भइरहेको जानकारी दिए ।

‘भारत र नेपाल सरकारबीच भएको द्विपक्षीय सहमतिअनुसार आईसीपीको काम अघि बढिसकेको छ,’ ठेकेदार साहले भने ‘अहिलेसम्म ३० प्रतिशत काम पूरा भएको छ ।’

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले गत २९ मंसिरमै नेपालतर्फ निर्माण हुने आईसीपीका लागि आवश्यक जग्गा भारतीय पक्षलाई हस्तान्तरण गरेको थियो । नेपाल सरकारले बुधनगरमा ४१ करोड रुपैयाँमा चार सय घरपरिवारलाई मुआब्जा दिएर १६९ बिघा जमिन अधिग्रहण गरेको थियो ।

आईसीपी निर्माणका लागि भारतीय ठेकेदार पक्षले प्रयोग गर्न ल्याउने सामाग्री र उपकरण सबै भन्सार महसुल र राजस्व छुटको सुविधा नेपाल सरकारले प्रदान गरेको छ ।

पहिलो चरणमा आईसीपी जाने लिङ्क रोड र आईसीपी हाताभित्र भौतिक संरचना निर्माणको काम भइरहेको छ । संयुक्त रूपमा नेपाल-भारत दुर्वतर्फ बन्ने सो भन्सार नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइको हुनेछ ।

आईसीपी निर्माण गर्न १२९ बिघा र लिङ्क रोडका लागि ४० बिघा जग्गा छुट्याइएको छ । यसमध्ये ४० विघामा ४ हजार ३२० मिटर लामो चार लेनको कालोपत्रे सडक निर्माण हुनेछ । यो लिङ्क रोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तर-दक्षिणी राजमार्गसँग जोडिनेछ ।

आईसीपी निर्माणका लागि भारतीय ठेकेदार पक्षले प्रयोग गर्न ल्याउने सामाग्री र उपकरण सबै भन्सार महसुल र राजस्व छुटको सुविधा नेपाल सरकारले प्रदान गरेको छ ।

भारतीय पक्षले निर्माण गरिदिने एकीकृत चेकपोस्ट विन्दुमा भन्सार, पशु क्वारेन्टाइनलगायत सीमा क्षेत्रमा हुने सरकारी कारोबार एकै थलोबाट सेवा प्रदान गरिने छ ।

भारतले निर्माण गरिदिने आईसीपी हाताभित्र पाँचवटा ठूला गोदाम, दुईवटा ठूला सेड, कार्यालय सञ्चालन भवन, भन्सार कार्यालयको भवन, कर्मचारी आवास भवन, उपचार केन्द्र, खाजा तथा खाना घर, बैंक तथा वित्तीय संस्थाको भवन, सुरक्षाकर्मीको भवन, पर्खाल, आईसीपीमा सवारी साधन प्रवेश तथा निकास हुने कालोपत्रे सडकलगायत भौतिक संरचना रहने छन् ।

विराटनगरको रानी भन्सार कार्यालय आईसीपी बनिसकेपछि बुधनगरमा स्थानान्तरण हुनेछ ।