चैत २५, काठमाडौं ।
भारतले रक्सौलबाट काठमाडौं जोड्ने रेलमार्ग निर्माणका लागि सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच रक्सौलबाट काठमाडौं जोड्ने रेलमार्ग निर्माणका लागि तत्कालै प्रारम्भिक सर्वे गरिसक्ने मोडालिटी तय गर्ने समझदारी भएको छ ।
अहिले रेल्वे विभागले वीरगञ्ज-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्दैछ । यसलाई चाँडै सकेर अब भारतले रेलमार्गको सर्वे सुरु गर्नेछ ।
दुबै देशबीचको कनेक्टिभिटीलाई विस्तार गर्दै आर्थिक विकासलाई प्रवर्द्धन गर्न नयाँ विद्युतीय रेलमार्ग निर्माण गर्न दुबै प्रधानमन्त्री तयार भएको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ ।
दुई प्रधानमन्त्रीबीच पहिलो चरणमा भारतले रक्सौल काठमाडौं रेगमार्ग निर्माणका लागि एक वर्षभित्र प्ररारम्भिक सर्वे सक्ने समझदारी भएको हो ।
यो परियोजनाको आर्थिक पक्ष र मोडालिटी भने विस्तृत परियोजना प्रतिवेदन आएपछि मात्रै तय गरिने भएको छ ।
दुई प्रधानमन्त्रीबीच जनकपुर-जयनरग रेल्वे र जोगबनी-बिराटनगर रेल्वे सन् २०१८ भित्रै सम्पन्न गरेर सञ्चालनमा ल्याउने सहमति पनि भएको छ । अहिले यी रेलमार्ग विस्तारको काम अन्तिम चरणमा छ ।
यी आयोजनाका लिंक रेल्वेलाइनका रुपमा रहेका जयनगर-बिजलपुरा-बर्दिबास रेल्वेलाइनलाई पनि प्राथमिकतामा राखिने भएको छ । यी आयोजनामा देखिएका जग्गा प्राप्तिका समस्यालाई छिट्टै समाधान गर्ने सरकार सहमति भएको छ ।
अहिले बर्दिबासमा जग्गा प्राप्तिमा ठूलो समस्या रहेको इन्जिनियर उपाध्यायले जानकारी दिए ।
‘हालका मन्त्रीले नै जग्गा अधिग्रहण गर्न नदिन चलखेल गरेका छन्,’ उपाध्यायले भने, ‘अब प्रधानमन्त्रीले नै प्रतिवद्धता गरेपछि छिट्टै समाधान हुन्छ होला ।’
दुई प्रधानमन्त्रीबीच अब नेपाल-भारत ज्वाइन्ट वर्किङ ग्रुपको बैठक नियमित बस्ने त्यसमा रेल्वे कनेक्टिभिटीबारे छलफलहरु गर्ने समझदारी पनि भएको छ ।
यो ग्रुपले दुई देशबीचका रेल्वेलाइनको आवश्यक्ताहरु पत्ता लगाउँदै निर्माण तथा सञ्चालनका लागि दुईपक्षीय मोडालिटीहरु टुंगो लगाउनेछ ।
