चैत २३, काठमाडौं ।
टुरिस्ट बसमा भन्सार छलेको सामान र रक्तचन्दन लुकाएर ल्याएको आरोपमा प्रहरीले बस मालिकसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ना ४ ख ४५१६ नम्बरको बसमालिक सर्लाही हरिवन १० का नेत्रबहादुर रानामगर र काठमाडौं महानगरपालिका १५ का ४३ वर्षीय अमिर कुदिन मियाँलाई पक्रउ गरेको हो ।
चैत २० गते दिउँसो २ बजे प्रहरीले ना ४ अ ४५१६ नम्बरको बसबाट भन्सार छलेर ल्याएको सामान र रक्तचन्दन बरामद गरेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बसतथा लत्ता कपडाको धनी रानामगर र उक्त सामान ल्याउने मियाँलाई पक्राउ गरिएको हो । उनीहरुलाई बिहीबार पक्राउ गरी अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले रक्तचन्दनबाट बनाएको ठेकी र मालदाना गरी ११ किलो २४५ ग्राम बरामद गरेको थियो ।
त्यस्तै थ्री प्लक सकेट ३२ पाकेट, फोर प्लक सकेट बोर्ड १० वट्टा, स्वीच ४० वट्टा, टु प्लक सकेट ५ बट्टा, विभिन्न रङ्ग र साइजका १८ जोर लेडिज चप्पल, १४३ थान सिल्क साडी, सिफन साडी ७८ थान, कुर्ता सुरुवाल ६० थान, टप्स (कुर्ता) ३ हजार १ सय ८८ थान, पुरुषले लगाउने कर्टन सर्ट २१७ थान र सिल्क बनारसी साडी ६२ थान बरामद गरेको थियो ।
