बेगनास किनारमा फिस फेष्टिवल हँदै; करिब ७० हजार दर्शकले अवलोकन गर्ने, कतिको कारोबार हुने ?

२३ चैत्र २०७४, शुक्रबार ०७:५३

चैत २३, काठमाडौं ।

सात तालको शहर लेखनाथमा फिस फेष्टिवल हुने भएको छ ।

होटल तथा रेष्टुरेण्ट एशोसिएसन लेखनाथको आयोजना तथा बेगनास डुंगा ब्यबसायी समिति, बेगनासताल बस सञ्चालक समिति तथा बेगनासताल बजार ब्यबस्थापन समितिको सहआयोजनामा लेखनाथको बेगनास ताल किनारमा यही चैत २९ गतेदेखि बैशाख १ गतेसम्म फिस फेष्टिवल हुने भएको हो ।

आयोजक होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथले शुक्रबार फेष्टिवल स्थल बेगनासमा पत्रकार सम्मेलन गरी फेष्टिवलको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

‘बेगनास जाऔं, माछाका परिकारमा रमाऔं’ भन्ने मुल नाराका साथ आयोजना हुने फेष्टिवलमा वेगनासताल, रुपाताल, मैदी र दिपाङ तालसहित स्थानीय पोखरीहरुमा उत्पादन भएका माछाहरु विक्री तथा वितरणमा राखिने फेष्टीवल संयोजक दामोदरभक्त थापाले जानकारी दिए ।

फेष्टिवलमा २३ प्रकारका माछाहरु विक्रीका लागि राखिनेछन् भने माछाको झोल, माछा प|mाई, माछा सुकुटी, माछा पोलेको लगायतका परिकारहरुको स्वाद लिन पाइने उनले बताए ।

प्रवेश निःशुल्क रहेको महोत्सवमा माछाको बारेमा जानकारी लिन चाहानेहरुको लागि मत्स्य अनुसन्धान केन्द्रबाट परामर्श दिने व्यबस्था समेत मिलाइने संयोजक थापाले बताए ।

बेगनाससहित सात ताल नजिकका क्षेत्रको पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्नु, आन्तरिक तथा बाहृय पर्यटनको प्रवर्द्धन, त्यहाँ उत्पादित माछा, मह, कफि, जडीवुटीहरुको प्रचार प्रसार, स्थानीय माछाको संरक्षणसहित तालहरुको संरषण गर्ने उद्धेश्यले फेष्टिवल आयोजना गरिएको एशोसिएसन लेखनाथका अध्यक्ष दुर्गाप्रसाद अधिकारीले बताए ।

उनले सात ताल, जैविक विविधता, मनोरम हिमश्रृंखला, विभिन्न्ा जातका चराचुरुङगी, जंगली जिवजन्तु लगायतको संरक्षण गर्न पनि महोत्सवले सहयोग पुग्ने उनले बताए ।

फेष्टिवलको अवसरमा बेगनास तालमा महिला तथा पुरुष खुल्ला डुङ्गा दौड प्रतियोगिता, खुल्ला पौडी प्रतियोगिता, माछा मार्ने प्रतियोगिता, माछा र खानाका परिकारहरु, माछाको परिकार बनाउने निशुल्कः तालिम, कफी प्रदर्शनी, जडीवुटी प्रदर्शनी, पप कन्सर्ट, लोकदोहोरी, वाल उद्यान लगायतका कार्यक्रम मुख्य आकर्षणको रुपमा रहने आयोजकले जनाएको छ ।

महोत्सवको अवसरमा हेलिकोप्टरबाट सातै तालको अवलोकन गर्ने पहिलोपटक ब्यबस्थापन गरिएको आयोजकले जनाएको छ भने मोटरबोटमा ताल सयर, बराह मन्दिर दर्शन गर्ने ब्यबस्थासमेत रहेको अध्यक्ष अधिकारीले बताए ।

फेष्टिवलको ७० हजार दर्शकले अवलोकन र करिब ४० लाखको कारोवार हुने अपेक्षा गरिएको अध्यक्ष अधिकारीले बताए ।