धुर्मुस नेतृत्वको टोली क्रिकेट रंगशालाको जग्गा हेर्न सैनामैनामा, लम्टिया खेल मैदान उपयुक्त हुने ठहर

२० चैत्र २०७४, मंगलवार ०९:१७

चैत २०, काठमाडौं ।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उपयुक्त जग्गा अवलोकन गर्न आएको कलाकार सिताराम कट्टेल (धुर्मुस) सहितको टोलीले रुपन्देहीको सैनामैना नगरपालिका–७ स्थित लम्टिया खेल मैदान उपयुक्त हुने ठहर गरेको छ ।

प्राविधिक रविभूषण झासहित पुगेको टोलीले स्थलगत अवलोकनपछि लम्टिया खेल मैदान उपयुक्त हुने निष्कर्ष निकालेको हो ।

‘हामीले काठमाडौं मूलपानी, कीर्तिपुर र भक्तपूरमा पनि ठाउँ हेर्यौं तर स्टेडियमका लागि चाहिने पर्याप्त जग्गा लम्टियामा पाइयो ।

यहाँ त एउटा होइन, ३–४ वटा स्टेडियम बनाउन सकिने जग्गा रहेछ’, प्राविधिक रविभूषण झाले अनलाइनखबरसँग भने । झाले अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाउन लागिएकाले सुरक्षा र अन्य प्राविधिक परीक्षण गरेर यसबारे निक्र्योल गरिने बताए ।

अन्तर्राष्ट्रिय स्टेडियम ४० हजार जना दर्शक क्षमताको हुन्छ । लम्टिया खेल मैदान ६५ बिघा क्षेत्रफलको रहेको छ ।

यो खेल मैदान भैरहवा विमानस्थलबाट करिब ३५ किलोमिटर, बुद्ध जन्मस्थल लुम्बिनीबाट १६ किलोमिटर, पुर्व–पश्चिम लोकमार्गको रामापुर कलौनीबाट २ किलोमिटर दक्षिणमा र रामापुर–लुम्बिनी दुई लेन सडकखण्डको डेढसय मिटर पुर्वमा रहेको छ ।

धुर्मुस सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने घोषणा गरेलगत्तै सैनामैना नगरपालिकाले लम्टिया खेल मैदानको ६५ बिघा जग्गा उपलब्ध गराउने सार्वजनिक घोषणा गरेको थियो ।

‘अन्तराष्ट्रियस्तरको व्यवस्थित रंगशाला बनाउन पर्याप्त जग्गा आवश्यक हुन्छ, त्यसका लागि यो ठाउं नै उपयुक्त हुने ठानेर हामीले धुर्मुस सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने निर्णय गरेका हौं’, सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले भने ।

अन्य स्थानमा पनि जग्गा हेरेपछि प्राविधिकहरुको प्रतिवेदनका आधारमा उपयुक्त ठाउँ छनोट गर्ने फाउण्डेसनका सिताराम कट्टेलले बताए ।

यसपछि प्राविधिक र कलाकारसहितको टोलीले चितवनमा जग्गा अवलोकन गर्ने प्राविधिक झाले जानकारी दिए ।