“कारागारका कैदी कसरी दोहाेरी साँझमा पुग्छन् ?” : गृहमन्त्री थापा, छानबिन गर्न निर्देशन

१९ चैत्र २०७४, सोमबार ०८:१४

चैत १९, काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले कारागारबाट केही कैदीलाई राति ठमेलको दोहोरी साँझमा लैजाने गरेको रिपोर्ट आएको भन्दै कारागार व्यवस्थापन विभागलाई छानबिन गर्न निर्देशन दिएका छन् ।

कारागार व्यवस्थापन विभागको निरीक्षणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै उनले भने, ‘दोहोरी साँझमा लानेदेखि विभिन्न ठाउँमा घुमाउन लैजाने गरेको रिपोर्ट आएको छ, त्यस्तो कार्यमा संलग्नलाई छानविन गरी कारवाहीको दायरामा ल्याउनुहोस् ।’

उनले जेलरसँगको मिलेमतोमा जेलभित्रका केही चौकीदार, नाइके, भाइ नाइकेहरुले अन्य बन्दीलाई दुःख दिने गरेको गुनासो पनि सुनिएको भन्दै त्यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई पनि तत्काल जेल सरुवा गरी त्यसको जानकारी मन्त्रालयलाई दिन निर्देशन दिएका छन् ।

उनले कारागार सुधारमा उपलब्धि र परिणाममुखी काम गरेर कारागारभित्रका विकृति र विसंगति हटाउनु पर्नेमा जोड दिए ।

कारागारलाई यातना गृहको रुपमा नभई सुधार गृहको रुपमा विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

उनले भने, ‘अपराधी कारागारमा आएपछि असल नागरिकको रुपमा रुपान्तरण भएर जाउन् भन्ने कुरामा ध्यान दिन आवश्यक छ ।’

आफूले कारागार सुधारलाई प्राथमिकता दिएर काम गरेको भन्दै कैदीको सिदाबापतको रकम बढाउनेदेखि निर्माणाधीन कारागारहरुको निर्माण छिटो सम्पन्न गर्नेसम्मका कामलाई प्राथमिकतामा राखेका जानकारी दिए ।

विभागका निर्देशक कृष्णप्रसाद आचार्यले कारागार सुधारसम्बन्धी कार्ययोजनाको खाका प्रस्तुत गरेका थिए ।

गत हप्ता विभिन्न कारागारको निरीक्षणलगत्तै गृहमन्त्री थापाले कारागार सुधार योजना एक हप्ताभित्र तयार पार्न निर्देशन दिएका थिए ।